लगानी प्रवर्द्धन गर्न नेपाल–भारतबीच समझदारी

नेपाल र भारतबीचको आर्थिक सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यसहित नेपाल–भारत चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (निक्की) र फेडेरेसन अफ इन्डियन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (फिक्की)ले आपसी व्यापार, लगानी तथा सीमापार व्यापार प्रवर्द्धन गर्न संयुक्त रूपमा काम गर्ने सहमति गरेका छन्।

निक्कीका अध्यक्ष सुनिल केसी र फिक्कीकी महाप्रबन्धक ज्योति विजद्वारा नयाँ दिल्लीमा आज आइतबार हस्ताक्षर गरिएको समझदारीका अनुसार दुबै संस्थाले ब्यापारिक प्रतिनिधिमण्डलको आदानप्रदान, गैरगोप्य सूचनाको साझेदारी र संयुक्त प्रवर्द्धनात्मक कार्यक्रमहरूको आयोजना गर्नेछन्।

समझदारी अनुसार निक्की नेपालका लागि फिक्कीको विशेष साझेदारका रूपमा रहनेछ भने फिक्की भारतका लागि निक्कीको विशेष साझेदार रहनेछ। समझदारीमा दुवै पक्षले व्यापार र लगानी सम्बन्धी विविध प्रकाशन र तथ्याङ्कहरु नियमित रूपमा आदानप्रदान गर्ने पनि उल्लेख छ।

‘हामी प्रत्येक वर्ष कम्तीमा एउटा प्रमुख संयुक्त कार्यक्रम आयोजना गर्नेछौं र नेपाल तथा भारतका व्यवसायीहरूबीच प्रतिनिधिमण्डलको आदानप्रदानलाई सहयोग गर्नेछौँ’, निक्की अध्यक्ष सुनिल केसीले भन्नभयो, ‘हाम्रो साझेदारीले संयुक्त अध्ययन, बजार सर्वेक्षण तथा आर्थिक बिकास एवं चासोका नयाँ क्षेत्र पहिचान गर्न प्रकाशन आदानप्रदान समेत समेट्नेछ।’

फिक्कीकी महानिर्देशक ज्योति विजले पनि आर्थिक सम्बन्धलाई सुदृढ बनाउने दुवै संस्थाको साझा जिम्मेवारी रहेको बताउनुभयो ।

१९२७ मा महात्मा गान्धीको सल्लाहमा स्थापना गरिएको फिक्की भारतको एक पुरानो र प्रभावशाली व्यापार संगठन हो। नयाँ दिल्लीमा मुख्यालय रहेको यस संस्थामा सार्वजनिक तथा निजी क्षेत्रका २,५०,००० भन्दा बढी कम्पनीहरू आबद्ध छन्। नीति सुधार, आर्थिक वृद्धि, नवप्रवर्तन र लगानी प्रवर्द्धनमा यसले अग्रणी भूमिका खेल्दै आएको छ।

त्यसैगरी, सन् १९९३ मा प्रभाकर एसजेबी राणाद्वारा स्थापना गरिएको निक्की एक द्विदेशीय, गैर–नाफामूलक व्यवसायिक संस्था हो। यसले नेपाल–भारतबीच व्यापार, लगानी तथा आर्थिक सहकार्यलाई प्रवर्द्धन गर्दै आएको छ।

यो संस्था दुवै देशका व्यवसायी र संस्थाहरूबीच पुलको रुपमा काम गर्दै, रणनीतिक साझेदारी, बजार विश्लेषण, नीतिगत संवाद र ऊर्जा, पर्यटन, पूर्वाधार तथा उद्योग क्षेत्रमा सहकार्यको प्लेटफर्म प्रदान गर्दछ। नेपालस्थित भारतका राजदूत निक्कीका संरक्षक हुन्। हाल निक्कीका संरक्षकको रुपमा राजदूत नवीन श्रीवास्तव छन्।