महासंघ र शिक्षामन्त्रीबीच भएको छलफल निष्कर्षिवहीन

शिक्षकहरूको आन्तरिक र खुला प्रतिपस्पर्धाको विषयमा सहमति नभएपछि नेपाल शिक्षक महासंघ र शिक्षा मन्त्रालयबीच भएको छलफल बिनानिष्कर्ष टुङ्गिएको छ।

शिक्षक महासंघले आन्तरिक प्रतिस्पर्धाबाट ७५ प्रतिशत र खुलामा २५ प्रतिशत पदपूर्ती हुनुपर्ने माग राखेको थियो।

तर, शिक्षा मन्त्रालयले ७५ः२५ को रेसियोमा जान नसकिने जनाएपछि सहमति हुन नसकेको हो।

मन्त्रालयले खुलाबाट ६० प्रतिशत र आन्तरिक प्रतिष्पर्धाबाट ४० प्रतिशत शिक्षक छनोट हुने प्रस्ताव गरेको छ। तर, शिक्षक महासंघले यसमा असन्तुष्टि जनाएको छ।

शिक्षक महासंघले असन्तुष्टि जनाएपछि शिक्षामन्त्री रघुजी पन्तले महासंघसँग छलफल गरेका थिए।

प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ७५ः२५ को रेसियोबारे कुरा उठेपछि शिक्षा मन्त्रालयले शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक रोकेर शिक्षक महासंघसँग छलफल गरेको थियो। उपसमितिले आन्तरिकमा ६० र खुलामा ४० प्रतिशत प्रतिष्पर्धा हुने सहमती जुटाएको छ।

तर, सांसदहरूले शिक्षकहसँग खुलामा २५ र आन्तरिकमा ७५ प्रतिशत हुने सहमति भएको थियो भन्दै यो विषयमा पुनः छलफल गर्न भनेका थिए।