नेपाली कांग्रेसको क्रियाशील सदस्यको संख्या करिब ९ लाख अर्थात् ८ लाख ७० हजार नाघेको छ।
९ महिनापछि पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्री गगनकुमार थापाले क्रियाशील सदस्यको विषयमा अध्यावधिक विवरणबारे जानकारी गराएका हुन्।
जसअनुसार ८ लाख ७० हजार ७८० जना कांग्रेसका क्रियाशील सदस्य हुन्। जसमा १४औं महाधिवेशनमा नवीकरण गर्नेहरू ४ लाख २३ हजार ४३४ जना र नयाँ ४ लाख ४७ हजार ३४६ जना र नेपाली जनसम्पर्क समितिबाट १९ हजार ५९२ जना क्रियाशील छन्।
कांग्रेसले अहिलेसम्म ८ लाख ५१ हजार ७८० संख्यामा सदस्यता कार्ड छपाइ भएको जनाएको छ। यो ७४ जिल्लाको तथ्यांक हो। बारा, डोल्पा र मुस्ताङका १ लाख ९४३ बाहेक ८ लाख ५० हजार ८४६ र जनसम्पर्क समितिमा ९ हजार ६१८ सदस्यता वितरण भइसकेको छ।
कांग्रेस क्रियाशील सदस्यता नवीकरणको फाराम ०७९ चैत २२ गतेदेखि नै जिल्लामा पठाउन थालिएको थियो। सोहीअनुसार ८ लाख ७० हजार ८८४ वटा फाराम पठासकिएको बताइएको छ।