चिनियाँ कम्युनिष्ट पार्टीले आज स्थापनाको १०४ औं वार्षिकोत्सव मनाउँदै छ । सन् १९२१ जुलाई १ का दिन स्थापित उक्त पार्टीले सन् १९४९ अक्टोबर १ का दिनदेखि शासन सञ्चालन गर्दै आएको छ ।
चिनियाँ कम्युनिष्ट पार्टीले शासन सञ्चालन गरेको अवधीलाई नयाँ चीन भन्ने गरिन्छ ।
सन् १९७८ देखि अवलम्बित खुल्ला अर्थतन्त्र र विदेशी लगानीको जगमा आज छिमेकी चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र बनेको छ ।
अध्यक्ष माओत्सेतुङले जग हालेको कम्युनिष्ट पार्टीले आर्थिक रुपमा फड्को मार्न थालेको सत्य बोल्दा १४ बर्षे पार्टी कार्वाहीको बनबासबाट फर्केपछि सन १९७८ मा नेता तङ स्याओफिङको आर्थिक सुधार र खुल्लापनको नीतिका कारण हो ।
वर्तमान महासचिव तथा राष्ट्रपति सि चिनफिङको कार्यकालमा चीनले आर्थिक समृद्धिलाई मजबुत तुल्याउँदै अन्तर्राष्ट्रिय आर्थिक, राजनीतिक तथा सामाजिक मञ्चमा सशक्त भूमिका निर्वाह गर्दै आएको छ ।
कम्युनिष्ट पार्टीको नेतृत्वमा चीनले सन् १९७८ पछि झण्डै ८० करोड नागरिकलाई चरम गरिबीको रेखाबाट माथि ल्याएको अन्तर्राष्ट्रिय संघ संस्थाहरुले समेत स्वीकारेका छन् ।
सन् १९८० देखि झण्डै ३० वर्ष चीनको आर्थिक वृद्धिदर औसतमा १० प्रतिशत हाराहारी थियो । यो उपलब्धी विश्वका कुनै पनि मुलुकले हालसम्म प्राप्त गर्न नसकेको विश्व बैंकलगायत अन्तर्राष्ट्रिय दातृ संस्थाहरुको अभिलेखमा उल्लेख छ ।