नेकपा एमालेका नेता पदम गिरीले संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरियड सम्बन्धी व्यवस्थामा गरिएको हेरफेरलाई गम्भिर षडयन्त्र भनेर टिप्पणी गर्नुभएको छ ।
यस्तो कार्यमा संलग्नले नैतिकताको आधारमा ठाउँ छोड्नुपर्छ र कारबाही भोग्नुपर्ने पनि उहाँले बताउनुभयो ।
आज सिंहदरबारमा पत्रकारहरुसँग छलफल गर्दै पूर्व कानुनमन्त्री समेत रहनुभएका गिरीले संसदीय समितिको प्रतिवेदन प्रतिनिधि सभाबाट पास हुँदाको भन्दा फरक कुरा आएको भन्दै गिरीले यसलाई गम्भीर षडयन्त्रको संज्ञा दिनुभयो ।
‘निजामती कर्मचारी विधेयकका सन्दर्भमा जुन कुलिङ पिरियडको विषय थियो, यो महिनौँसम्म लगाएर छलफल भएको विषय हो । सबैलाई जगजाहेर छ । यसका सन्दर्भमा चाहिँ भएका सहमतिहरु भनेको दुई वर्षका निम्ति कुलिङ पिरियड कायम राख्नुपर्छ भनेर सहमति पनि भयो र त्यही सहमतिका आधारमा समितिबाट निर्णय भएर हामी अगाडि बढेका हौँ,’ उहाँले बताउनुभयो ।
गिरीले भन्नुभयो, ‘यस्तो कार्य कहाँबाट भएको छ, जोबाट भएको छ, त्यो निर्मम कारबाहीको विषय बन्नुपर्छ । यसले सिंगो संसदको गरिमालाई चाहिँ बदनाम बनाउने काम भएको छ । यस्ता कुरा स्वीकार्य हुँदैनन् ।’
यसमा छानबिन भई कारबाही नभएसम्म राज्य व्यवस्था समितिको बैठक नबस्ने समेत उहाँले बताउनुभयो ।