जापानमा हुने २० औँ एसियाली खेलकुदमा सहभागी हुने खेल संघबारे युवा तथा खेलकुद मन्त्रालय र नेपाल ओलम्पिक कमिटिले छु्ट्टा छुट्टै सूची सार्वजनिक गरेका छन्।
नेपाल ओलम्पिक कमिटीले मंगलबार पत्रकार सम्मेलन गर्दै एसियाली खेलकुदका लागि ३० वटा खेल (खेलसंघ) दर्ता गरेको जानकारी दिएको थियो। नेपाल ओलम्पिक कमिटिले दर्ता गरिएका ३० खेलको सार्वजनिक गरे पनि मन्त्रालयले भने ३१ वटा खेल दर्ता गरिएको बताएको हो।
त्यसको केही समयमा नै युवा तथा खेलकुद मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै नेपाल सरकारले अवैध घोषणा गरेको नेपाल ओलम्पिक कमिटीको कार्य समितिलाई ओलम्पिक गतिविधिमा रोक लगाएको अवस्थामा कमिटिको लेटर प्याड र छापको दुरुपयोग गरी प्रारम्भिक चरणमा सहभागी हुने खेलहरुको सूची दर्ता गर्ने समय हिजो सोमबारसम्म रहेको भनि प्रेसित गरिएको पत्रमा कुनै वैधानिक मान्यता नरहेको र त्यसलाई मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्ले समेत मान्यता दिन नसक्ने बताएको हो।
नेपाल ओलम्पिक कमिटीले सार्वजनिक गरेको सूची
मन्त्रालयले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘प्रतियोगिता आयोजकबाट आधिकारिक सूची दर्ताका लागि पत्र प्राप्त नभएको अवस्थामा अवैध ओलम्पिक कमिटिबाट गरिएको कुनै पनि पत्रलाई सरकारी मान्यता दिन नसकिने जगजायर हुँदाहुँदै सो कमिटिबाट गरिएको पत्राचारका आधारमा खेल संघहरु मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्बाट दर्ता भएन भनेर प्रचार गरिनु दुखत भएको विषय भएको प्राष्ट पार्न चाहान्छौँ।’
मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् तथा अन्तर्राष्ट्रिय स्तरमा हुने कुनै पनि खेल प्रतियोगितालाई रोक्ने पक्षमा नरहेको, खेल र खेलाडीको वृद्धी विकासको पक्षमा सदैज रहँदै आएको समेत मन्त्रालयले जनाएको छ।
सन् २०२६ मा आयोजना हुने एसियाली खेलकुदमा सहभागिता हुन चाहने खेल संघको तोकिएको मितिमै दर्ता गरि नियमानुसार सम्न्धित निकायले प्रक्रिया अगाडि बढाइरहेको अवस्थामा अतिरञ्जित ढंगबाट प्रचार गरेर मन्त्रालय र परिषद्को साख गिराउने काम भएको भन्दै मन्त्रालयले यसको पछि नलाग्न र विश्वास नगर्न समेत आग्रह गरेको छ।
एसियाली खेलकुद जापानको आइची र नागोया शहरमा सन् २०२६ को सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म हुने बताइएको छ।