उद्योग मन्त्री भण्डारी सँग चिनियाँ राजदूत सोङ्गको शिष्टाचार भेट

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत चेन सोङ्गले शिष्टाचार भेट गर्नुभएको छ ।

मन्त्रालयमा भएको भेटमा दुई देशबिचको सम्बन्ध र पारस्परिक सहकार्यको सम्भावनाका विषयमा विस्तृत छलफल भएको छ ।

भेटका क्रममा मन्त्री भण्डारीले नेपाल र चीनबिचको सम्बन्ध ऐतिहासिक र घनिष्ठ रहेको उल्लेख गर्दै भन्नुभयो, “नेपाल र जनवादी गणतन्त्र चीन घनिष्ठ छिमेकी हुन् । हाम्रो सम्बन्ध आपसी विश्वास, सम्मान, सद्भाव र मैत्रीपूर्ण आधारमा अगाडि बढिरहेको छ ।”

उहाँले यस वर्ष नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सव मनाउन लागिएको सन्दर्भमा नेपाल–चीनबिचको सम्बन्ध राजनैतिक, आर्थिक, सामाजिक र सांस्कृतिक हिसाबले थप गहिरिँदै गएको बताउनुभयो ।

मन्त्री भण्डारीले चीनसँगको आर्थिक साझेदारीप्रति कृतज्ञता व्यक्त गर्दै नेपालमा रहेका सम्भावित स्टिल खानी, फलाम खानी, तेल र ग्यास स्रोतहरूको खोज, अन्वेषण तथा उपयोगमा चीनसँग सहकार्य विस्तार गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “चीनको प्राविधिक तथा लगानी साझेदारीका माध्यमबाट हामी खानी तथा खनिज स्रोतको व्यावसायिक विकास गर्न सक्नेछौँ । यसले नेपालको औद्योगिक विकासमा महत्त्वपूर्ण योगदान र्पुयाउनेछ ।”

उहाँले हालै दैलेख जिल्लामा सम्पन्न गरिएको ४,०१३ मिटर गहिरो उत्खनन तथा पेट्रोलियम स्रोत पत्ता लगाउने कार्यलाई ऐतिहासिक उपलब्धिका रूपमा उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “यो सफलता ऊर्जा आत्मनिर्भरताको दिशातर्फको सशक्त पाइला हो । दाङ, पाल्पा र सुनसरी जिल्लाहरूमा पनि थप सम्भावना देखिएको छ, त्यसअनुसार विस्तृत अन्वेषणका लागि चीनसँग आर्थिक तथा प्राविधिक सहयोगको लागि लगानी प्रस्ताव गरिएको छ ।”

राजदूत चेन सोङ्गले पनि नेपालमा पूर्वाधार, ऊर्जा, पर्यटन, निर्माण लगायतका क्षेत्रहरूमा चीनको लगानी तथा सहयोग निरन्तर रहने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउनुका साथै खानी तथा खनिजहरूको व्यवसायीक उत्पादनमा चीन सरकारको तर्फबाट सकिने आवश्यक सहयोगका लागि समन्वय गर्ने बताउनुभयो ।