सुमिरे टुर एन्ड ट्राभल्सले जापानमा भिजिट भिसाका नाममा हजारौँ मानिसबाट अर्बौँ रुपैयाँ लिएर बदमासी गरेको आरोप लागेपछि नेपाल प्रहरीले चासो राखेको छ ।
विगत १० वर्षदेखि भिजिट भिषामा जापान पठाउँदै आएको सो ट्राभल्सको बारेमा संसदमा समेत कुरा उठेपछि नेपाल प्रहरीको मानव वेचविखन ब्युरोले चासो राखेको हो ।
दुई दिनदेखि यो विषयमा चासो राखेपनि अहिलेसम्म केही फेला नपरेको प्रहरीले जनाएको छ ।
प्रतिनिधि सभामा ओखलढुंगाका सांसद रामहरि खतिवडाले असार १४ मा सुमिरे टुर एन्ड ट्राभल्सले विगत १० वर्षदेखि जापानमा भिजिट भिसाका नाममा हजारौँ मानिसबाट अर्बौँ रुपैयाँ लिएर बदमासी गरेको आरोप लगाउनुभएको थियो ।
सो आरोपपछि प्रहरीको मावनवेचविखन ब्युरो सक्रिय भएको थियो । तर यो विषयलाई गोप्य राखेको छ ।
प्रहरीका अनुसार प्रहरीले चासो राख्दा अध्यागमन विभागबाट भन्दा पनि ट्राभलबाट नै सबै विवरण लिनुपर्ने देखिएपछि प्रहरीले त्यतातर्फ ध्यान केन्द्रित गरेको छ ।
तर प्रहरीले अहिलेसम्म कुनै सामाग्री फेला पार्न सकेको छैन । सुमिरे ट्राभल्सको बारेमा प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद खतिवडाले अनुसन्धानको माग गर्नुभएको थियो ।
त्यसक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका डोलप्रसाद (डीपी) अर्यालले सभामुखसमक्ष खतिवडाको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गर्नुभएको थियो ।
प्रहरीले अनुसन्धानमा चासो राखिरहेका बेला रास्वपाका कार्यवाहक सभापति समेत रहनुभएका डीपी विरुद्ध भिजिट भिसा दुरुपयोग र मानव तस्करी विषयमा छानबिनको माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उजुरी दर्ता भएको छ ।
प्रधानमन्त्री कार्यालयमा युवराज सफलले सो उजुरी दर्ता गर्नुभएको हो ।
सफलले प्रतिनिधिसभाको गत असार १५ गतेको बैठकमा सांसद अर्यालले आफू सुमिरे टुर्स एण्ड ट्राभल्स प्रा.ली. को सञ्चालक रहेको र वर्षौँदेखि जापानमा भिजिट भिसामा नेपाली नागरिक पठाउँदै आएको स्विकारे लगत्तै कार्यवाहक सभापति अर्यालविरुद्ध उजुरी दर्ता गर्नुभएको प्रहरीले जनाएको छ ।