विकास सहायता कम र असन्तुलित : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता अनुमान गर्न सकिने र विकासशील देशको आवश्यकतासँग अनुकूल हुनुपर्नेमा जोड दिनुभएको छ ।

संयुक्त राष्ट्रसङ्घीय ‘विकासका लागि वित्त’ सम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनका क्रममा स्पेनमा रहेका प्रधानमन्त्री ओलीले ‘थिम आधारित राउण्ड टेबल–अन्तरराष्ट्रिय विकास सहयोगको पुनर्जीवन’ मा सहअध्यक्षतासहित सम्बोधन गर्दै साझा विश्वव्यापी समृद्धिको मार्गलाई पछ्याउँदै आवश्यकताभन्दा कम र असन्तुलित रूपमा प्रवाह भइरहेको विकास सहायतामा रूपान्तरण हुनुपर्ने बताउनुभएको हो ।

विकसित देशले आफ्ना प्रतिबद्धतालाई बोलीमा नभई व्यवहारमा उतार्नुपर्ने बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हामी हतियारमा होइन, मानिसहरूमा लगानी गरौँ । जलवायु वित्तलाई मापन गरी सन्तुलित लगानी बढाऔँ । अन्तरराष्ट्रिय विकास सहयोगको वास्तविक उद्देश्य निर्भरता होइन, सम्मान र मर्यादा पनि हो ।’

उहाले जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित देशहरूमा अनुकूलन र न्यूनीकरणको लागि छुट्याइएको नयाँ र थप स्रोतहरूको सुनिश्चिताताका लागि पनि आह्वान गर्नुभयो ।

प्रधानमन्त्री ओलीले स्थानीय स्वामित्व केन्द्रित, पारस्परिक विश्वासलाई बढावा दिने र पारदर्शिता र साझेदारीलाई कायम राख्नेगरी लगानी बढाउन आग्रह गर्दै सेभिया (सेभिल्ला) प्रतिबद्धताले विश्वव्यापी विकास सहयोगलाई पुनः रूपान्तरण र पुनर्जीवित गर्ने एउटा महत्त्वपूर्ण अवसर प्रदान गरेको उल्लेख गर्नुभयो ।