प्रतिनिधि सभाबाट बहुमतले पारित भएको संघीय निजामती विधेयक राष्ट्रिय सभामा पुगेको छ । बुधवार बसेको बैठकमा राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले प्रतिनिधि सभाबाट सन्देश टेबल गरेका हुन् ।
विधेयक पारित भएकै दिन प्रतिनिधि सभाका सचिव हर्कराज राईले असार १५ को मितिमा राष्ट्रिय सभालाई सन्देशसहित विधेयक पठाएका थिए । विधेयकमा रहेको कुलिङ पिरिडयसम्बन्धी व्यवस्थालाई लिएर विवाद भइरहेको समयमा विधेयक राष्ट्रिय सभामा पुगेको हो ।
विधेयक टेबुल हुनुअघि नै राष्ट्रिय सभा बैठकको शून्य समयमा कुलिङ पिरियडसम्बन्धी व्यवस्था हटाइएको भन्दै सदस्यहरूले विरोध जनाएका थिए ।
राष्ट्रिय सभाबाट पनि पारित भएपछि मात्र विधेयक प्रमाणित गरेर राष्ट्रपतिकोमा पुग्नेछ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि मात्र विधेयक ऐनको रूपमा कार्यान्वयनमा आउने छ ।
विधेयकमा रहेको त्रुटि सच्चाउन भन्दै बुधवार नै राज्य व्यवस्था समितिको बैठक बस्दैछ । प्रतिनिधि सभामा उत्पत्ति भएको विधेयक असार १५ गते बसेको प्रतिनिधि सभा बैठकले पारित गरेको थियो ।
विधेयकमा छेडखानी गरेर कुलिङ पिरिडयलाई निष्क्रिय बनाइएको भनेर विरोध भइरहेको छ ।