कर खारेजीको माग गर्दैसुनचाँदीमा लगाइएको कर खारेजीको माग गर्दै आन्दोलित व्यवसायीहरु आज पनि सडकमा उत्रिएका छन् ।
नेपाल सुनचाँदी हस्तकला व्यवसायी संघ र बूढानिलकण्ठ सुनचाँदी व्यवसायी संघले आज असार १८ गते बुधबार संयुक्तरुपमा विरोध प्रदर्शन गरेका हुन् ।
प्लेकार्ड र ब्यानर बोकेका प्रदर्शनकारीहरु नारा जुलुस गर्दै सुकेधारा चोकबाट चावहिलतर्फ हिँडेका छन् । गोपीकृष्ण पुल, चावहिल चोक हुँदै चुच्चेपाटी पुगेर पुन चावहिलमा चोकमा आई कोणसभा गर्ने उनीहरुको तयारी छ ।
नेपाल सुनचाँदी हस्तकला व्यवसायी सङ्घका अध्यक्ष श्यामकुमार विश्वकर्मा, बुढानिलकण्ठ नगरपालिका सुनचाँदी व्यवसायी सङ्घका अध्यक्ष विष्णुप्रसाद गौतम, नेपाल राष्ट्रिय सुनचाँदी कालीगढ सङ्घका अध्यक्ष रमेशकुमार विश्वकर्मा, नेपाल रत्न तथा आभूषण सङ्घ,भक्तपुर सुनचाँदी व्यवसायी सङ्घ, शिवशक्ति गहना गृह चावहिल,रत्न व्यवसायी सङ्घ नेपाललगायत सुनचाँदी व्यवसायमा संलग्न विभिन्न संघ संस्थाका प्रतिनिधिहरु प्रदर्शनमा सहभागी छन् ।
व्यवसायीहरुले सुनमा लगाइएको दुई प्रतिशत विलासिता कर र हिरा पत्थरमा लगाइएको १३ प्रतिशत कर खारेज गर्न माग गरेका छन् । सुनचाँदी कारोबारका लागि व्यवसायीमैत्री एवं उपभोक्तामुखी स्पष्ट नीति, नियमावली तथा निर्देशिका बनाउनुपर्ने उनीहरुको माग छ ।
प्रदर्शनकारीहरुले ‘सुनचाँदी आभुषण क्षेत्रको सम्मान गर, ऐन नियम निर्देशिका जारी गर, भन्सार दर समान गर ुव्यवसायिक एकता जिन्दावाद,उपभोक्ता अधिकार संरक्षण गर,देशभरका व्यवसायी कालिगढ कर्माचारी एक हौँ जस्ता नारा लगाएका छन् ।