वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बहालवाला मन्त्री, निवर्तमान राज्यमन्त्री, कविलगायत विशिष्ट व्यक्तिका विद्यालयमाथि छानबिन अगाडि बढाएको छ ।
विभागले बद्मासी गरेका २८ शैक्षिक संस्थाका प्रतिनिधिलाई तीन दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ । मनोमानी शुल्क लिएको, विविध शीर्षकमा अनावश्यक शुल्क असुलेको गुनासो आएपछि विभागले काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र भक्तपुर नगरपालिकामा सञ्चालित निजी विद्यालयमा अनुगमन गरेको थियो ।
अनुगमन गरेकामध्ये २८ वटा शैक्षिक संस्थामा कैफियत देखिएपछि विभागले कागजातसहित उपस्थित हुन भनेको हो ।
जसमा भक्तपुर मोर्डन इङ्गलिस स्कुल प्रालि, गणपति प्रतिष्ठान ललितपुर प्रालि, प्रिमियर इन्टरनेशनल प्रालि, मिल्सबेरी इन्टरनेशनल स्कुल प्रालि, युरो स्कुल प्रालि, राय स्कुल काठमाडौं प्रालि, बृद्दस्पति विद्यालय व्यवस्थापन प्रालि, पाठशाला नेपाल फाउण्डेशन प्रालि, रोजबड बोर्डिङ्ग स्कुल प्रालि, सिफल स्कुल प्रालि, ग्यालेक्सी पब्लिक स्कुल प्रालि छ ।
त्यसैगरी, आलोक विद्याश्रम प्रालि, निसर्ग बाटिका प्रालि, काठमाडौं युरो स्कुल प्रालि, काव्य स्कुल, केएमसी स्कुल, भ्याली भ्यु स्कुल, नोबेल एकेडेमी, युनाइटेड स्कुल ललितपुर प्रालि, सृजनशील प्रतिभा शिक्षा प्रालि, माछापुच्छ्रे वर्ल्ड स्कुल ललितपुर प्रालि, रातोबंगला स्कुल प्रालि, डिएभी सुशिल केडिया विश्व भारती, स्वस्तीश्री गुरुकुल प्रालि, जिनियस स्कुल ललितपुर प्रालि, युलेन्स एजुकेशन फाउण्डेशन, लिट्टिल एन्जेल्स स्कुल प्रालि, नाइटिंगेल स्कुल प्रालिका प्रतिनिधिलाई पनि विभाग बोलाइएको छ ।
विभागका सूचना अधिकारी निर्देशक भरतप्रसाद आचार्यका अनुसार स्थानीय पालिकाबाट ती विद्यालयको विवरण झिकाएर अध्ययन गर्ने कार्य भइरहेको छ ।
गत असार १६ गते पत्राचार गरिएकोमा धेरै विद्यालयका प्रतिनिधि हाजिर भइसकेको उनले जानकारी दिए । जनआस्थासँग उनले भने,‘बढी शुल्क लिएकोलगायतका गुनासो आएपछि विभागले अनुगमन गरेको थियो । कैफियत भेटिएपछि विद्यालयका प्रतिनिधिलाई बोलाइएको हो । धेरै आइसकेका छन् । स्थानीय पालिकासँग विवरण झिकाएर अध्ययन गरिरहेका छौं । छिट्टै एउटा निर्णयमा पुग्छौं ।’
लिट्टिल एन्जेल्सका सञ्चालक उमेश श्रेष्ठ व्यवसायीसँगै राजनीतिज्ञ हुन् । नेपाली काँग्रेसका कोषाध्यक्ष एवं पूर्वस्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उनको विद्यालय हात्तीवनमा रहेको छ ।
नाइटिंगेल स्कुल बहालवाला युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको हो । पाठशाला स्कुलका सञ्चालक कवि अर्जुन पराजुली हुन् ।
डिकोबिना कविता लेख्ने उनले त्यसमार्फत अरुमाथि रिस पोख्दै आएका छन् । कवितामार्फत उनले देशका राजनीतिज्ञको चरित्रहत्या गर्छन् ।