मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न प्रदेशमा सामाजिक सहयोग गरेको छ । बैंकले स्वास्थ्य क्षेत्रअन्तर्गत वीरेन्द्रनगर– ४, सुर्खेतस्थित प्रदेश अस्पताल सुर्खेतलाई सहयोगस्वरूप १० थान ह्विलचेयर प्रदान गरेको छ ।
यो सहयोगले स्वास्थ्य सेवा लिन आउने बिरामी र ज्येष्ठ नागरिकलाई सहज हुने अपेक्षा बैंकले लिएको छ । साथै, कोशी प्रदेशस्थित जिल्ला अस्पताल, धनकुटामा समेत बैंकले सात थान तीन सिटर कुर्सी हस्तान्तरण गरेको छ । त्यसैगरी बटालागाँउ, पूर्वीचौकी गाँउपालिका– ५, डोटीस्थित श्री नवप्रभाव आधारभूत विद्यालयमा अध्ययनरत ८७ जना छात्र–छात्रालाई विद्यालय पोसाक उपलब्ध गराएको छ ।
यस कार्यक्रमले विद्यार्थीमा उत्साह थप्नुका साथै अध्ययनप्रति सकारात्मक प्रभाव पर्ने विश्वास बैंकले लिएको छ । यसबाहेक अध्ययनप स्वास्थ्य, वातावरण तथा वित्तीय साक्षरतालगायतका क्षेत्रमा सहयोग गर्दै आइरहेको जनाएको छ । आगामी दिनमा समेत यस किसिमका गतिविधिलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता बैंकले जनाएको छ ।