गभर्नर डा. विश्वनाथ पौडेल बीआईएस बैठकमा सहभागी

  • Clock icon
    २०८२ असार २०, शुक्रबार ११:४३

नेपाल राष्ट्रबैंकका गभर्नर डा। विश्वनाथ पौडेल जुन २७ देखि २९, २०२५ सम्म स्विट्जरल्याण्डको बासेलमा आयोजित ब्याङ्क फर इन्टरनेशनल सेटलमेन्ट्स (बीआईएस)को ९५ औं वार्षिक बैठकमा सहभागी भएका छन्। सन् १९३० मा स्थापित बीआईएस एक अन्तर्राष्ट्रिय वित्तीय संस्था हो, जसमा हाल ६३ वटा केन्द्रीय बैंकहरू सदस्य रहेका छन्।

विश्वभर मौद्रिक र वित्तीय स्थायित्व कायम राख्ने उद्देश्यले स्थापित उक्त संस्थाले केन्द्रीय बैंकहरूबीचको सहकार्य र वित्तीय प्रणालीको विकास एवम् वित्तीय स्थायित्व कायम राख्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।

उक्त बैठकमा बीआईएस सदस्य राष्ट्र एवं विश्वका विभिन्न देशका केन्द्रीय बैंकका गभर्नरहरू एवम् उच्च अधिकारीहरूको सहभागिता रहेको थियो।

बैंकिङ प्रणाली ल्याउन सक्ने चुनौती र त्यसलाई सम्बोधन गर्न केन्द्रीय बैंकहरूले अवलम्बन गर्नुपर्ने नीतिगत व्यवस्थाका सम्बन्धमा छलफल भएको थियो।

वार्षिक बैठकको क्रममा डा. पौडेलले महाप्रबन्धक अगस्टिन कार्सटेन्ससँग भेटघाट गरेका थिए। साथै बीआईएस, बैंकिङ विभागका प्रमुख लुइस बेङ्गोचाको नेतृत्वमा उक्त विभागका उच्च अधिकारीहरू लगायतका प्रतिनिधिहरूसँग समेत बैठक गरेका थिए।

सो बैठकमा विदेशी विनिमय सञ्चिति लगानी विविधीकरणका लागि सुन खरिद तथा विश्वबजारमा उपलब्ध नयाँ नयाँ उपकरणहरूमा लगानी गरी विदेशी विनिमय सञ्चिति व्यवस्थापनबाट प्राप्त हुने प्रतिफल बढाउन नेपाल राष्ट्र बैंकसँग हुन सक्ने सहकार्य लगायतका विषयहरूमा छलफल भएको थियो ।

साथै, विदेशी विनिमय सञ्चितिलाई सुरक्षित, लाभदायक र प्रभावकारी व्यवस्थापन गर्न थप लगानीको अवसरका लागि आवश्यक सहकार्य गर्ने विषयमा समेत छलफल भएको थियो।

उक्त वार्षिक बैठकको क्रममा गभर्नर डा. पौडेल र भारतीय रिजर्व बैंकका गभर्नर सञ्जय मल्होत्राबीच भेटघाट भएको थियो। उक्त भेटमा दुई केन्द्रीय बैंकबीचको आपसी सम्बन्ध थप विस्तार गर्ने र आगामी दिनमा समेत दुई केन्द्रीय बैंकबीच द्विपक्षीय सहकार्य अभिवृद्धि गर्ने, भुक्तानी प्रणालीलाई सहज बनाउने र जनशक्तिको क्षमता विकास गर्ने लगायतका पक्षहरूमा निरन्तर समन्वय रहने विषयमा छलफल भएको थियो।

यसैगरी, बैठकको क्रममा गभर्नर डा. पौडेल र पिपल्स बैंक अफ चाइना पीबीसीका गभर्नर पान गोङशेङबीच भेटघाट भएको थियो।

पीबीसीका गभर्नरसँगको भेटमा दुई केन्द्रीय बैंकबीच द्विपक्षीय सहयोग, बैकिङ कारोबार एवम् भुक्तानी प्रणालीलाई सहज र प्रभावकारी बनाउनका लागि निरन्तर सहकार्य गर्ने विषयमा छलफल भएको थियो।

गभर्नर डा.पौडेलका साथ बैंक तथा वित्तीय संस्था नियमन विभागका निर्देशक गोविन्दप्रसाद नागिला र गभर्नरको कार्यालयका निर्देशक एवम् सञ्चालक समितिका सचिव शरण कुमार अधिकारीको समेत सहभागिता रहेको थियो।

 

  • Clock icon
    २०८२ असार २०, शुक्रबार ११:४३