नवलपरासी पश्चिममा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईजना युवकको मृत्यु भएको छ।
शनिबार पाल्हीनन्दन गाउँपालिका– १ झरही खोलामा भएको दुर्घटनामा प्रतापपुर गाउँपालिका– ४ पाचपेडाका २१ वर्षीय भोला राजभर र रामग्राम नगरपालिका– १५ डिगौलका १८ वर्षीय राहुल राजभरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।
सडकको मोडमा ओभरटेक गर्ने क्रममा लु २ ख ६५४ नम्बरको बसले लु ४७ प ४८७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनीहरुको मृत्यु भएको डीएसपी वीरदत्त पन्तले जानकारी दिए।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि पृथ्वीचन्द्र अस्पताल परासी लगिएको थियो।
उपचारकै क्रममा उनीहरुको मृत्यु भएको हो। बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।