शिक्षा समितिमा भनाभन

  • Clock icon
    २०८२ असार २२, आईतवार १८:२७

विद्यालय शिक्षा विधेयक टुंगो लगाउन छलफलमा जुटेका सांसदहरुबीच संसदीय समितिमा घोचपेच चलेको छ ।

आज बसेको शिक्षा समितिको बैठकमा सभापति अम्मबहादुर थापाले नेपाली कांग्रेसका सांसद श्याम घिमिरेलाई प्रमुख सचेतकको हैसियतमा बोल्न दिएपछि प्रमुख प्रतिपक्ष माओवादी केन्द्रकी सांसद रेखा शर्माले आपत्ती जनाइन् ।

त्यसपछि सांसदहरु भनाभनमा उत्रिएका हुन् ।

सभापति थापाले कांग्रेसका प्रमुख सचेतक घिमिरेलाई समय उपलब्ध गराइएको बताउनासाथ पूर्व मन्त्रीसमेत रहेकी शर्माले समितिको बैठकमा सबैले सदस्यको हैसियतामा बोल्नुपर्ने र कुनै पार्टीको प्रमुख सचेतकको ह्वीप नमान्ने बताइन् । लगत्तै सभापति थापाले सच्याउँदै भने, ‘माफ गर्नुहोला, सदस्य भन्नुपर्नेमा प्रमुख सचेतक भन्न पुगेछु ।’

त्यस्तै, शिक्षामन्त्री रघुजी पन्तले विधेयकमा कतिपय विषय अझै टुंग्याउन बाँकी रहेको र त्यसको लागि समय चाहिने भन्दै बैठक स्थगित गर्न प्रस्ताव गरेपछि सभापति थापा रिसाए ।

पन्तले भनेका थिए, ‘महासंघलाई शिक्षक पदपूर्तिको लागि ६०र४० मा सहमति गरायौँ, अझै केही छलफल टुंग्याउनुपर्ने देखियो, समय चाहिने भयो ।’

जवाफमा सभापति थापाले शिक्षामन्त्रीकै कारण विधेयकमा दोधार थपिँदै गएको भन्दै असन्तुष्टि जनाए । ‘सरकारलाई हामीले भनेको समितिले सबै मान्नुपर्छ भन्ने दम्भ नहोस् ।

कहिले सहमति भयो भन्ने, कहिले के भन्ने । दोधार धेरै भयो । मन्त्रीज्यू यहीँ उपस्थित हुनुहुन्छ, समितिले गरेको निर्णय पनि मान्नुपर्यो’, उनको भनाइ रह्यो ।

  • Clock icon
    २०८२ असार २२, आईतवार १८:२७