प्रधानमन्त्री हुम्ला जाँदा त्रिवि सभा स्थगित

त्रिविका उपकुलपति खड्ग केसी, रेक्टर दिविनन्द ढकाल र रजिस्ट्रार केदारप्रसाद रिजालले प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीलाई भेटेर असार १ गते त्रिवि सभाको समय तय गरेका थिए।

उपकुलपति केसीले त्रिवि सभामा नीति तथा कार्यक्रम र बजेट पेस हुने कुलपतिलाई जानकारी गराएका थिए।

कुलपति ओलीले त्यसको अनुमति पनि दिए। प्रधानमन्त्री ओलीले असार १ गते नै २२ गते वार्षिक सभा बैठक डाक्नु भनी त्रिविको पत्रमा तोक लगाएका थिए।

त्यसैले उपकुलपतिदेखि सम्पूर्ण कर्मचारी कार्यक्रम र बजेट ल्याउन तयारी गर्न थाले। त्रिविले योजना परिषद्, कार्यकारी परिषदबाट बजेट पारित गर्दै सभामा पेस गर्ने तयार गरेको थियो।

सभाबाट पारित भएपछि मात्र बजेट लागू हुन्छ। बैठकका लागि निम्ता समेत बाँडिएको थियो। सभामा सहभागी हुन उपत्यका बाहिरका प्राध्यापक सदस्य आइसकेका थिए।

तर, अन्तिम समयमा कुलपति ओलीले सिनेट बैठक स्थागित गरे। दुई साताअघि नै तय भएको कार्यक्रम स्थगित गरेर प्रधानमन्त्री ओली हुम्ला जाने निर्णय गरे।

प्रधानमन्त्री आज आइतबार बेलिब्रिज उद्घाटन गर्न हुम्ला जाने कार्यक्रम रहेकाले बैठक स्थगित गरिएको प्रधानमन्त्री सचिवालयले जनाएको छ।

शिक्षामन्त्री रघुजी पन्तको सचिवालयले पनि त्रिवि सभाको स्वीकृति दिँदा प्रधानमन्त्रीलाई हुम्ला जाने कार्यक्रमको बारेमा जानकारी नभएका कारण त्रिवि सभा स्थगित गर्नु परेको बताएको छ।

सभा स्थगित गर्नु कुलपतिले राम्रो नगरेको र खराब नजिर बस्ने भएको शिक्षा जानकारहरु बताउँछन् ।

यो पनि पढ्नुहोस् :

प्रधानमन्त्रीद्धारा हुम्लाबाट राष्ट्रिय सडक सञ्जालमा जोड्ने बेलिब्रिजको उद्‍घाटन -फोटो फिचर