नेपाल जन-प्रशासन संघ र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको संयुक्त आयोजनामा प्रदान हुँदै आएको हेमबहादुर मल्ल सम्मान यस वर्ष पूर्व प्रधानन्यायाधीश श्री कल्याण श्रेष्ठलाई प्रदान गरिने भएको छ।
संघ र कर्पोरेशनले मंगलबार काठमाडौंमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममार्फत पूर्व प्रधानन्यायाधीश श्रेष्ठलाई उक्त सम्मान प्रदान गरिने जानकारी गराइएको हो।
कार्यक्रममा नेपाल जन-प्रशासन संघका अध्यक्ष मधुरमण आचार्यले सार्वजनिक प्रशासन, न्यायिक नेतृत्व तथा संस्थागत विकासमा उहाँले पुर्याएको विशिष्ट योगदानको कदरस्वरूप सम्मान प्रदान गर्न लागिएको बताए।
सो अवसरमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका अध्यक्ष प्रदिपलाल श्रेष्ठ, संघका निवर्तमान अध्यक्ष कृष्णहरि बास्कोटा लगायतले मन्तव्य व्यक्त गरेका थिए।
पूर्व प्रधानन्यायाधीश श्रेष्ठलाई उक्त सम्मान विशेष समारोहबीच आगामी २०८२ साल असार २६ गते बिहीबार प्रदान गरिनेछ। सम्मानमा अभिनन्दनपत्रसहित नगद दुई लाख रुपैयाँ समावेश गरिने जनाइएको छ।
श्रेष्ठको चयन लोक सेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनालीको संयोजकत्वमा गठित सम्मान छनौट समितिले गरेको हो। समितिमा संघका अध्यक्ष मधुरमण आचार्य, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका अध्यक्ष प्रदिपलाल श्रेष्ठ, प्राध्यापक यशोदा काफ्ले, पूर्व सहसचिव जीवराज कोईराला सदस्य तथा संघका निवर्तमान अध्यक्ष कृष्णहरि बास्कोटा आमन्त्रित सदस्यको रूपमा सहभागी थिए।
कल्याण श्रेष्ठले कानुन र राजनीतिशास्त्रमा औपचारिक शिक्षा प्राप्त गरी जिल्ला, पुनरावेदन हुँदै सर्वोच्च अदालतमा न्यायाधीशका रूपमा सेवा गर्नुभएको थियो। उहाँ नेपालका २५औँ प्रधानन्यायाधीश हुनुहुन्थ्यो। द्वन्द्वपछिको संक्रमणकाल, बृहत शान्ति सम्झौता तथा संविधानसभाको निर्वाचनजस्ता ऐतिहासिक घटनाक्रममा उहाँको न्यायिक नेतृत्व विशिष्ट रहेको थियो। संक्रमणकालीन न्याय, समावेशी लोकतन्त्र, वातावरणीय न्यायलगायत विषयमा उहाँले प्रस्तुत गरेका विचार, अडान र ऐतिहासिक फैसलाहरूको उच्च मूल्यांकन गरिँदै यो सम्मान प्रदान गर्न लागिएको हो।
वि।सं। २०५७ सालदेखि प्रत्येक वर्ष प्रदान हुँदै आएको यो सम्मान यस पटक २१ औँ पटक प्रदान हुन लागेको हो। यसअघि केदारभक्त माथेमा, डा। भगवान कोईराला, महावीर पुन, कुलमान घिसिङ, डा। सन्दुक रुइत, डा। देवेन्द्रराज पाण्डे, सूर्यनाथ उपाध्याय, गोरक्षबहादुर न्हुच्छे प्रधानलगायत विशिष्ट व्यक्तित्वहरू सम्मानित भइसकेका छन्।
यो सम्मान साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका संस्थापक प्रमुख एवं ख्यातिप्राप्त प्रशासक स्वर्गीय हेमबहादुर मल्लको स्मृतिमा स्थापना गरिएको हो। मल्लले सार्वजनिक वितरण, सेवा तथा व्यवस्थापनका क्षेत्रमा पुर्याएको प्रेरणादायी योगदानको कदर गर्दै वि।सं। २०५७ सालमा यो सम्मान स्थापना गरिएको हो।
नेपाल जन-प्रशासन संघ वि।सं। २०४७ सालमा सार्वजनिक प्रशासन, व्यवस्थापन तथा सार्वजनिक सेवामा कार्यरत प्रशासक र प्राज्ञिकहरूबीचको समन्वय, ज्ञान आदान–प्रदान तथा नीति निर्माणमा सहयोग पुर्याउने उद्देश्यले स्थापना गरिएको पेशागत संघ हो।
आजको पत्रकार भेटघाट कार्यक्रममा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।