दोधारा चाँदनी सुक्खा बन्दरगाहको निर्माण कार्य शुरु

कञ्चनपुरको दोधारा चाँदनीमा निर्माण हुने सुुक्खा बन्दरगाह स्थलमा रुख कटानको काम सकिएको छ।

भारतसँगै सीमा जोडिएको दोधारा चाँदनी नगरपालिका १ मा पर्ने गौरीशंकर सामुदायिक वनमा रहेका १ हजार ५ सय ९३ रुख काट्ने काम सकिएको हो।

रुख कटानको काम सकिएसंगै सुक्खा बन्दरगाह निर्माणस्थलको ‘साइट क्लियर’ भएकाले निर्माणको काम सुरु हुने भएको छ। रुख कटानको काम सकिएकोले सुक्खा बन्दरगाह निर्माणको बाटो खुलेको हो।

‘रुख कटान गरेर साइट क्लियर गरिएको छ, अब छिट्टै निर्माण प्रक्रिया सुरु हुन्छ,’ इन्टरमोडल यातायात विकास समितिले जनाएको छ । दुई देशका प्रधानमन्त्रीबाट संयुक्त रूपमा शिलान्यासपछि औपचारिक रूपमा काम सुरु हुनेछ ।

गौरीशंकर सामुदायिक वनमा सुरुमा ४१ हेक्टर क्षेत्रफलमा रहेका १ हजार ७ सय २ रूख काट्नुपर्ने भए पनि छपान गरिएका १ सय ९ रुख चोरी भएका थिए। कटान गरिएका रुख शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पिपरैया पोस्टमा घाटगद्दी गरिएको छ।

सुक्खा बन्दरगाह निर्माणको ठेक्का पाएको कम्पनीले सर्भेको काम सुरु गरिसकेको छ। भारतले सुक्खा बन्दरगाह निर्माणका लागि ३ अर्ब ८० करोड नेपाली रुपैयाँमा निर्माण कम्पनीसँग ठेक्का सम्झौता गरिसकेको छ। आगामी ३ वर्षभित्र काम सक्ने लक्ष्य राखिएको छ।