अब क्यान्सर उपचारमा प्रयोग हुने दुर्लभ र अत्यावश्यक औषधि सरकारले निःशुल्क उपलब्ध गराउने भएको छ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आज आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा औषधी अभावमा विदेश गएर महँगो खर्च गनुपर्ने बिरामीको समस्या कम गर्न लामो मेहनतपछि सफलता प्राप्त भएको जानकारी दिनुभयो ।
३७ प्रकारका औषधी क्रमैसँग आउने भए पनि अरु आवश्यक औषधीसमेत सहयोगमा प्राप्त गर्न प्रयास गरिने मन्त्री पौडेलले बताए। ‘सूची थप गरेर धेरै नागरिकलाई अझ राहत दिन प्रयत्न गर्नेछौं,’ मन्त्री पौडेलले भन्नुभयो, ‘सरकारी क्यान्सर अस्पतालमा तत्काल औषधी पठाउने व्यवस्था मिलाइएका छौँ।’
नेपालमा औषधि उपलब्ध नभएका कारण उपचारका लागि विदेश जानुपर्ने समस्या कम गर्न मन्त्री पौडेलको पहलमा अन्तर्राष्ट्रिय च्यारिटी डाइरेक्ट रिलिफले ३७ प्रकारका औषधी सहयोग गर्ने प्रतिबद्धता जनाएअनुसार पहिलो खेपको औषधि नेपाल आइपुगेको छ।
डाइरेक्ट रिलिफले स्तन, छाला तथा विभिन्न खालका क्यान्सर उपचारमा आवश्यक पर्ने दुर्लभ र महँगा ती औषधी नेपालको आवश्यकताअनुसार ५ वर्षसम्म सहयोग गर्ने प्रतिवद्धता जनाएको छ।
‘क्यान्सरको औषधि महँगो हुँदा विपन्न नागरिकलाई समस्या हुँदै आएको छ,’ मन्त्री पौडेलले भने, ‘राज्यको लगानीबिना नै धेरै नागरिकलाई राहत दिने प्रयास हामीले गरेका छौँ।’