नेपाल बैंकले बिमा दाबीबापतको पाँच लाख रुपैयाँ भुक्तानी गरेको छ ।
बैंकले थाहा नगरपालिका– १ स्थित श्री झम्केश्वरी माविका शिक्षक तथा यस बैंकको पालुङ शाखामा कर्मचारी तलब खाताका ग्राहकसमेत रहेका रघुनन्दन यादवकी पत्नी अमिराकुमारी यादवलाई रकम भुक्तानी गरेको हो ।
यादवको १२ जेठमा सडक दुर्घटनामा परी मृत्यु भएको थियो । बैंकको कर्मचारी तलब खाताअन्तर्गत खाता खोलेको एक वर्षभित्र ग्राहकको मृत्यु भएमा पाँच लाखसम्मको दुर्घटना बिमा पाउन सक्ने व्यवस्था छ । दाबी रकम बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेय र चिफ फाइनान्स अधिकृत प्रकाश कुमार अधिकारीले हस्तान्तरण गर्नुभएको हो । दाबी रकम हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत पाण्डेयले नेपाल बैंक लिमिटेडले आफ्ना ग्राहकहरूको वित्तीय सुरक्षालाई सधैँ सर्वोच्च प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै भविष्यमा पनि उत्कृष्ट सेवा र सुरक्षालाई उच्च प्राथमिकता दिइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । ग्राहक हितमा कार्य गर्ने बैंकको नीतिको निरन्तरता स्वरूप बीमा रकम समयमै भुक्तानी गरिएको जानकारी दिनुभएको छ ।
नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैँक हो । इतिहास बोकेको यस बैंकले डिजिटल बैकिङमा अग्रणी भूमिका खेल्दै संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत पनि विभिन्न सहयोग गर्दै आइरहेको छ ।