अभिनेत्री स्कारलेट जोहानसन हलिउड इतिहासमा सबैभन्दा धेरै कमाइ गर्ने बनेकी छन्।
ब्ल्याक विडोको भूमिकामा प्रसिद्ध उनले पुरुष कलाकारलाई समेत उछिनेर कमाइको मामिलामा इतिहास रचेकी हुन्। जोहानसनका फिल्मले अहिलेसम्म १४।८ अर्ब अमेरिकी डलर ग्रस कमाइ गरेका छन्। यो आँकडाले उनलाई हलिउडको इतिहासमै सबैभन्दा धेरै कमाइ गर्ने कलाकार बनाएको हो।
एमसीयूका चर्चित अभिनेता स्यामुअल एल ज्याक्सन, रोबर्ट डाउनी जुनियर र क्रिस प्राटजस्ता कलाकारलाई स्कारलेटले बक्सअफिस कमाइको हिसाबले उछिनेकी छन्।
यी सबै कलाकारले मार्वलका सुपरहिट फिल्ममा अभिनय गरेका थिए र वर्षौँसम्म लिड स्टारको रूपमा थिए। अभिनेत्री जोहानसनको कुल कमाइमध्ये ठूलो हिस्सा मार्वल सिनेम्याटिक युनिभर्सका पाँच फिल्मबाट आएको हो।
उनका द एभेन्जर्स २०१२, एभेन्जर्स : एज अफ अल्ट्रोन २०१५, क्याप्टेन अमेरिका:सिभिल वार २०१६, एभेन्जर्स : इन्फिनिटी वार २०१८ र एभेन्जर्स:एन्डगेम २०१९ लगायतका फिल्मले मात्र करिब ८.७ अर्ब अमेरिकी डलर कमाएका थिए।