औद्योगिक पूर्वाधार विकासमा सरकार बाधक नभई साधक: मन्त्री भण्डारी

काठमाडाैं, १ साउन । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको ३८ औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न भएको छ। लिमिटेडका अध्यक्ष बाबुराम पन्तको अध्यक्षतामा आयोजित कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी प्रमुख अतिथिका रूपमा उपस्थित थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले सरकार औद्योगिक पूर्वाधार विकासमा बाधक नभई साधक बन्ने प्रतिबद्धता व्यक्त गरे। उनले जहाँ आर्थिक उद्यमशीलता हुन्छ, त्यहाँ रोजगारी सिर्जना हुने बताउँदै सरकारले औद्योगिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको स्पष्ट पारे।

मन्त्री भण्डारीले लिमिटेडका कामहरूलाई अझ प्रभावकारी बनाउन एक साताभित्र आगामी वर्षको कार्ययोजनासहित मन्त्रालयमा उपस्थित हुन निर्देशन दिए । वार्षिकोत्सव नयाँ आर्थिक वर्षको सुरुमै परेकाले आगामी योजना बनाउन सहज हुने उनको भनाइ थियो।

उनले सबै सरकारी संस्थानहरूको कार्यशैली अझ परिणाममुखी हुनुपर्ने आवश्यकता औँल्याउँदै निजी क्षेत्रको सुझावसहित लिमिटेड, मन्त्रालय र निजी क्षेत्रबीच सामूहिक अन्तरक्रिया आयोजना गरिने जानकारी दिए । मन्त्री भण्डारीले गुणस्तरहीन वस्तुको आयात रोक्न र स्वदेशी उत्पादनको निर्यात प्रवद्र्धन गर्न सरकार व्यवसायीको साथमा रहने प्रतिबद्धता पनि व्यक्त गरे।

उद्योग, वाणिज्य तथा आपूर्ति सचिव कृष्णबहादुर राउतले औद्योगिक क्षेत्रलाई सूचना प्रविधिसँग जोडेर आधुनिक, नवीन र प्रतिस्पर्धी बनाउन निजी क्षेत्रसँगको सहकार्य अपरिहार्य रहेको बताए ।

बालाजु औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका अध्यक्ष बाबुराम पन्तले औद्योगिक प्रवद्र्धनका लागि निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढिरहेको संस्थाको कार्यदिशा प्रस्तुत गरेका थिए।

कार्यक्रममा विभिन्न औद्योगिक क्षेत्रमा योगदान पुऱ्याउने उत्कृष्ट कर्मचारी र सफल उद्योगहरूलाई सम्मानसहित पुरस्कार प्रदान गरिएको थियो।