प्रदेश सभा खारेजको आवश्यकता : रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रदेश सभा खारेजको आवश्यकता भएको जनाएको छ ।
रास्वपाका प्रवक्ता मनीष झाले आफ्नो पार्टी प्रदेशसभा खारेज गर्ने पक्षमा रहेको बताउनुभएको हो ।

प्रतिनिधि सभा सदस्यसमेत रहेका झाले आज शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा प्रदेश रहने तर प्रदेशसभा खारेज गर्ने रास्वपाको नीति रहेको उल्लेख गर्नुभयो ।

प्रदेश सभामा पुग्ने प्रदेशका स्थानीय तह बनाउने गरी आफूहरू अघि बढिरहेको उहाँले सुनाए। पालिकाका प्रतिनिधि पुगेर प्रदेश सभामा काम गर्ने व्यवस्था गर्ने उहाको भनाइ थियो ।

‘प्रदेश रहन्छ तर हामी प्रदेशसभा खारेज गर्न चाहन्छौँ। त्यो प्रदेशको सभामा पुग्ने त्यही प्रदेशको स्थानीय तह हुन्छ। पालिकाहरुको प्रतिनिधि पुगेर सभा गर्छन्’, उहाँले भन्नुभयो ‘त्यसपछि प्रदेश र स्थानीयको तादम्यता एक अर्काको कोर्डिनेसन झनै प्रभावकारी हुन्छ।’

रास्वपाले केन्द्रमा मन्त्रालयको संख्या २१ बाट १५ मा झार्ने योजनाअनुसार आफ्नो नीति अघि बढाइरहेको जानकारी पनि झाले दिनुभयो ।

विभिन्न कालखण्डमा बनाइएका आयोग खारेज गर्ने पक्षमा रास्वपा रहेको उहाले बताउनुभयो ।