राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सञ्चालक समितिको नवनियुक्त अध्यक्ष देव कुमार ढकालले पदभार ग्रहण गर्नुभएको छ । साउन २ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले सर्वसम्मत ढकाललाई अध्यक्ष चयन गरेको थियो । पदभार ग्रहण अघि अध्यक्ष देव कुमार ढकालले नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेल समक्ष आफ्नो पद तथा गोपनीयताको शपथ लिनु भएको थियो ।
ढकालसंग नेपाल राष्ट्र बैंकमा ३० वर्षभन्दा बढी समय विभिन्न जिम्मेवारीमा रहेर सेवा गर्नुभएको अनुभव छ । पछिल्लो समय राष्ट्र बैंकको कार्यकारी निर्देशकको जिम्मेवारीमा रहेर कार्य गर्नुभएका ढकाल वित्तीय प्रणाली, बैंकिंग प्रशासन तथा नियमन प्रणाली विषयको जानकार हुनुहुन्छ ।
नवनियुक्त अध्यक्ष ढकाललाई संचालक समिति सदस्यहरु ,बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल र कर्मचारीहरुले स्वागत गर्नुभएको थियो ।
२०२२ सालमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकले अहिले ३ सय ९ वटा शाखा कार्यालयहरु मर्फत ७७ वटै जिल्लामा करिव ४७ लाख भन्दा बढि सेवाग्राहीलाई सेवा प्रवाह गर्दै आएको छ । बैँक आफ्नो सेवालाई समय सापेक्ष बनाउँदै प्रविधिमा आधारित वित्तीय समावेशीकरण र दिगो बैंकिङ सेवा विकासमा केन्द्रित रहेको छ ।