ल्हेण्डेखोला बाढीबाट भएको क्षतिका लागि बीमा दाबी २ अर्ब ८९ करोड नाघ्यो

रसुवाको ल्हेण्डेखोलामा गएको विनाशकारी बाढीबाट भएको क्षतिको प्रारम्भिक बीमा दाबी रकम २ अर्ब ८९ करोड २६ लाख रुपैयाँ पुगेको छ। नेपाल बीमा प्राधिकरणका अनुसार बाढीबाट प्रभावित संरचना तथा सम्पत्तिका लागि हालसम्म ७ वटा बीमा कम्पनीहरूले ६३ वटा बीमा दाबी दर्ता गरेका छन्।

सबैभन्दा धेरै दाबी शिखर इन्स्योरेन्स कम्पनीमा परेको छ। शिखर इन्स्योरेन्सले १० वटा दाबीमार्फत १ अर्ब ६१ करोड ११ लाख रुपैयाँ बराबरको बीमा दाबी दर्ता गराएको छ। त्यसपछि, नेक्को इन्स्योरेन्सले ३ वटा दाबीमा ५२ करोड रुपैयाँ र सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ७ वटा दाबीमा ३४ करोड १५ लाख रुपैयाँ बराबरको बीमा दाबी गरेका छन्।

त्यस्तै, नेपाल इन्स्योरेन्स कम्पनीमा १२ वटा दाबी दर्ता गरिएका छन्, जसको कुल मूल्य १ करोड २२ लाख ५० हजार रुपैयाँ रहेको छ। सानिमा जीआईसी इन्स्योरेन्समा ६ वटा दाबीमा ७७ लाख रुपैयाँ, र आईजिआई प्रुडेन्सियलमा ९ वटा दाबीमा ७५ लाख ५० हजार रुपैयाँ बराबरको दाबी परेको छ।

अन्य बीमा कम्पनीहरूको विवरणअनुसार, युनाइटेड अजोड इन्स्योरेन्समा ३ वटा दाबीमा ६८ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्समा ६ वटा दाबीमा ४७ लाख रुपैयाँ, र सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा ७ वटा दाबीमा ३१ लाख रुपैयाँ बराबरको क्षतिपूर्तिको माग गरिएको छ।

नेपाल बीमा प्राधिकरणले यो प्रारम्भिक अवस्था मात्र भएको र थप दाबीहरू दर्ता हुने क्रम जारी रहेको जनाएको छ। बाढीले मितेरी पुल (नेपाल–चीन सिमानाको मुख्य पुल), निर्माणाधीन सुख्खा बन्दरगाह, भन्सार कार्यालय, तथा वरपर रहेका सवारीसाधनहरू बगाएको थियो। साथै, रसुवागढी जलविद्युत आयोजना र अन्य भौतिक पूर्वाधारहरूमा पनि ठूलो क्षति पुगेको छ।