पशुपतिनाथ मन्दिर प्राङ्गणमा शनिवार (साउन ३ गते) मैथिल ब्राह्मण महासभाको २३औं वार्षिकोत्सव धार्मिक, सांस्कृतिक तथा सामाजिक उत्सवका रूपमा भव्य रूपमा सम्पन्न भएको छ। महासभाको आयोजनामा सम्पन्न उक्त विशेष कार्यक्रममा सत्यनारायण भगवानको पूजा वैदिक विधिपूर्वक, मन्त्र उच्चारणका साथ श्रद्धाभावका साथ सम्पन्न गरिएको थियो।
कार्यक्रमको प्रमुख आकर्षण नवविवाहित महिलाहरूको मधुश्रावणी पूजन रह्यो। परम्परागत मैथिली वेशभूषामा सजिएका धीयापुत्रीहरूले पूजामा सहभागिता जनाए, जसले मैथिल संस्कारको जीवन्त प्रस्तुति दिएको थियो। उनीहरूलाई पारम्परिक चुनरी ओढाइ, सिन्दूर, खोंइछ, र सम्मानपत्र प्रदान गरिँदै संस्कार र संस्कृतिको जगेर्नामा योगदान दिएको भन्दै सम्मान गरिएको थियो।
कार्यक्रममा उल्लेखनीय सहभागिता जनाउने महिलाहरूमा सोनु झा, काजल मिश्र, सिम्पी ठाकुर, रचना चौधरी लगायतका संस्कारशील प्रतिभाहरू थिए। उनीहरूलाई महासभाको तर्फबाट बधाई तथा उज्ज्वल भविष्यको शुभकामना दिइएको थियो।
कार्यक्रमको नेतृत्व काठमाडौं मैथिल ब्राह्मण महासभाकी अध्यक्ष पुनम झाले गर्नुभएको थियो। अध्यक्ष झाले तीन वर्षअघि सुरु गरेको यो कार्यक्रम अहिले समृद्ध सांस्कृतिक अभ्यासको रूपमा विकसित भएको छ। समापन मन्तव्यमा उहाँले भन्नुभयो, “२३ वर्षे गौरवपूर्ण यात्रामा हामीले संस्कृति, परम्परा र सामाजिक चेतनालाई अझ सशक्त बनाउने लक्ष्यसहित यो कार्यक्रम सम्पन्न गरेका छौं। समाजलाई एकतामा बाँध्ने उद्देश्यले गरिएको प्रयास आगामी पुस्ताका लागि प्रेरणाको स्रोत बन्न सकोस् भन्ने हाम्रो विश्वास छ।”
उक्त अवसरमा ‘सखी बहिनपा मैथिलानी समूह’ को उपस्थिति पनि विशेष रह्यो। समूहको अगुवाइमा सहभागी महिलाहरूलाई तेल, सिन्दूर, खोंइछ र प्रसाद वितरण गर्दै सम्मान गरिएको थियो। महिलाहरूको आत्मीयता र उत्साहले पूरै कार्यक्रम उल्लासमय बनेको थियो।
कार्यक्रममा मैथिली भजन, सांस्कृतिक नृत्य, परम्परागत प्रस्तुति, तथा मैथिल संस्कृतिबारे वक्तव्यहरू समेत प्रस्तुत गरिएको थियो। साथै, महासभाले आगामी वर्षका योजनाहरू सार्वजनिक गर्दै शिक्षा, संस्कृतिको संरक्षण, महिला सशक्तीकरण र धार्मिक गतिविधिमा अझ विस्तार गर्ने योजना घोषणा गरेको थियो।
कार्यक्रममा वरिष्ठ समाजसेवी, पूजारी वर्ग, महिला समूह, युवा प्रतिनिधि, पत्रकार, तथा अतिथिहरूको उल्लेख्य उपस्थिति रहेको थियो। अन्त्यमा आयोजक समितिले सम्पूर्ण सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै, भविष्यमा अझ व्यापक र प्रभावशाली कार्यक्रम गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो।