राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवाहरूमा आंशिक अवरोध आएको जनाएको छ। विभागका सूचना अधिकारी शिवराज सेढाईंका अनुसार, व्यवस्थापन सूचना प्रणाली (MIS) को नियमित मर्मत र क्षमता अभिवृद्धिका लागि प्राविधिक टोलीहरू संलग्न रहेकाले केही सेवा प्रभावित भएका हुन्।
सेढाईंका अनुसार, अनलाइन दर्ता, राष्ट्रिय परिचयपत्र वितरण सेवा, विवरण सच्याउने कार्य, सामाजिक सुरक्षा भत्ता प्राप्तकर्ताको दर्ता तथा नविकरणलगायत MIS मा समावेश केही सेवा आइतवारदेखि प्रभावित भएका छन्।
विभागले एक सार्वजनिक सूचना जारी गर्दै मर्मत तथा प्रणाली अभिवृद्धि कार्य सम्पन्न भएपछि सबै सेवा पुनःसञ्चालनमा ल्याइने जानकारी दिएको छ। सेवा पुनः सञ्चालनसम्बन्धी जानकारी आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जालमार्फत समयमै दिइने पनि सूचनामा उल्लेख छ।
हालको अवस्थामा सेवाग्राहीलाई अफलाइन माध्यमबाट परिचयपत्र विवरण पेश गर्न तथा कार्ड संकलन गर्न आग्रह गरिएको छ। विभागले सेवाको पूर्ण पुनःस्थापनासम्म सेवाग्राहीलाई धैर्य र सहकार्य गर्न अनुरोध गरेको छ।
प्राविधिक मर्मत तथा क्षमता अभिवृद्धिको यो प्रक्रिया पछि प्रणाली अझ प्रभावकारी, सुरक्षित र शीघ्र कार्यान्वयन योग्य हुने अपेक्षा गरिएको छ। विभागले प्रणाली स्थायित्व सुनिश्चित गर्न समय-समयमा यस्ता अपडेट आवश्यक रहेको स्पष्ट पारेको छ।