नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको समृद्धि हासिल गर्न राज्यको सोचसँगै नीतिगत सुधार आवश्यक रहेको बताएका छन्।
आज खुमलटारस्थित आफ्नै निवासमा नेपाल उद्योग वाणिज्य महासंघ (CNI) का नवनिर्वाचित पदाधिकारीहरूसँगको भेटमा बोल्दै अध्यक्ष दाहालले निजी क्षेत्रलाई अनुकूल वातावरण दिन सकिने हो भने उनीहरूबाट राष्ट्रिय अर्थतन्त्रमा ठूलाे योगदान लिन सकिने उल्लेख गरे।
उनले भने, “राज्यको सोच र नीति परिवर्तन भएपछिमात्र निजी क्षेत्रलाई अघि बढ्न सहज वातावरण सिर्जना हुन्छ। राज्यले सहजीकरणको भूमिका निर्वाह गर्न आवश्यक छ।”
भेटका क्रममा महासंघका पदाधिकारीहरूले निजी क्षेत्रले मुलुकको अर्थतन्त्रमा पुर्याएको योगदान र भविष्यमा अझ सशक्त रूपमा भूमिका निर्वाह गर्न चाहेको धारणा राखेका थिए। उनीहरूले राज्यबाट स्थिर नीति, स्पष्ट निर्देशन र लगानीमैत्री वातावरणको अपेक्षा गरेका थिए।
अध्यक्ष दाहालले राज्य र निजी क्षेत्रबीच विश्वास र सहकार्यको सम्बन्ध बलियो बनाउनु पर्नेमा जोड दिंदै, नीति निर्माणमा निजी क्षेत्रको सशक्त सहभागिता सुनिश्चित गरिनुपर्ने धारणा राखे।
उनले मुलुकको आर्थिक समृद्धि हासिल गर्न निजी क्षेत्रसँगको सहकार्य अपरिहार्य भएको उल्लेख गर्दै समुचित नीतिगत सुधारमार्फत उत्पादन, रोजगारी र लगानीको वातावरण सृजना गर्न सकिने बताए।
भेटमा महासंघका नवनिर्वाचित अध्यक्ष र अन्य पदाधिकारीहरूको टोली सहभागी रहेको थियो। उनीहरूले प्रचण्डलाई आफ्ना भावी योजना, प्राथमिकता र चुनौतीबारे जानकारी गराएका थिए।
यस भेटले राज्य र निजी क्षेत्रबीच नीति संवादको नयाँ गति दिने विश्वास गरिएको छ।