अमेरिका यात्रा गर्न चाहने अन्तर्राष्ट्रिय आगन्तुकहरूका लागि अब थप खर्च व्यहोर्नुपर्ने भएको छ। ट्रम्प प्रशासनले हालै पारित गरेको घरेलु नीतिसम्बन्धी विधेयकमार्फत ‘भीसा इन्ग्रिटी शुल्क’ नामक नयाँ शुल्क लागू गर्न लागेको हो, जसअन्तर्गत गैर-आप्रवासी भीसा लिनेहरूले हालको आवेदन शुल्कसँगै कम्तीमा २५० अमेरिकी डलर वा सोभन्दा बढी अतिरिक्त शुल्क तिर्नुपर्नेछ।
यो शुल्क पर्यटक, व्यापार प्रयोजनका आगन्तुक, अन्तर्राष्ट्रिय विद्यार्थी, र अन्य अस्थायी आगन्तुकहरू सबैमा लागू हुनेछ। अमेरिकी विदेश मन्त्रालयका अनुसार, आर्थिक वर्ष २०२४ मा १ करोड १० लाखभन्दा बढी गैर-आप्रवासी भीसा जारी गरिएका थिए।
यद्यपि अष्ट्रेलिया, बेलायत, जर्मनी लगायत ४० भन्दा बढी भीसा वेभर कार्यक्रम अन्तर्गत पर्ने देशहरूबाट ९० दिन वा कम अवधिका लागि अमेरिका जानेहरूलाई भने यो शुल्क लागू हुने छैन।
शुल्क भिसा जारी हुने समयमा अनिवार्य रूपमा तिर्नुपर्ने व्यवस्था छ। यो शुल्क रिफन्डयोग्य सुरक्षा धरौटी हो भन्ने उल्लेख विधेयकमा गरिए पनि, फिर्ता प्रक्रिया अझै स्पष्ट गरिएको छैन। यदि यात्रुले भिसाका शर्तहरू पूर्ण रूपमा पालना गरेमा शुल्क फिर्ता लिन सकिने भनिए पनि यसबारे विस्तृत मापदण्ड सार्वजनिक गरिएको छैन।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताका अनुसार, यो नयाँ शुल्कले आप्रवासन नियन्त्रण कडाइ गर्न, भीसा ओभरस्टे घटाउन र सीमा सुरक्षा मजबुत पार्न सहयोग गर्ने विश्वास गरिएको छ। तर, शुल्क फिर्ता नपाइने अवस्था आएमा त्यो अमेरिकाको कोषाध्यक्षको सामान्य कोषमा जम्मा गरिनेछ।
विधेयकअनुसार, शुरुआतमा कम्तीमा २५० डलर राखिएको यो शुल्क गृह सुरक्षा विभागले आवश्यक ठानेमा बढाउन सक्ने छ, र प्रत्येक वर्ष मुद्रास्फीति अनुसार समायोजन गरिने छ।
अमेरिकन ट्राभल एसोसिएसनले यो निर्णयप्रति आलोचना गर्दै भनेको छ कि नयाँ शुल्कले अमेरिकाको भ्रमण पूर्वखर्च १४४ प्रतिशतले बढाउने छ, जसले पर्यटक आगमनमा नकारात्मक असर पार्न सक्छ।