नेपालमा एक वर्षमा १३ हजार युनिट इभीको आयात, चिनियाँ ब्रान्डको प्रमुख दबदबा

नेपालमा विद्युतीय सवारीहरूको वृद्धि तीव्र गतिमा भइरहेको छ। भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०८१–८२ को साउनदेखि असार मसान्तसम्म १३,५६९ युनिट इभी (विद्युतीय सवारी) नेपाल भित्रिएका छन्, जसको कुल मूल्य ३१ अर्ब ७५ करोड ३६ लाख ३३ हजार रुपैयाँ रहेको छ। यो अघिल्लो वर्षको तुलनामा ७.७० प्रतिशत बढी हो।

विभागका अनुसार, यस वर्ष ५० किलोवाट क्षमता भएका ४,७४३ युनिट, ५१ देखि १०० किलोवाटका ७,४३१ युनिट, १०१ देखि २०० किलोवाटका १,३६२ युनिट र ३०० किलोवाट क्षमता भएका ४४ युनिट इभी आयात भएका छन्। यसरी, मासिक औसतमा १,१३० युनिट इभी नेपाल भित्रिएको पाइन्छ।

यस वर्षको सबैभन्दा उच्च इभी आयात भने जेठ महिनामा भएको हो, जहाँ ३,६३३ युनिट इभी नेपाल भित्रिएका छन्। जेठ महिनामा ८ अर्ब ४४ करोड ५७ लाख रुपैयाँ बराबरको इभी आयात भएको जनाइएको छ। इभीको आयातमा वृद्धि, विशेषगरी बजेटमार्फत इभीमाथि कर वृद्धि गर्ने अनुमानसँगै भएको हो।

नेपालको इभी बजारमा चिनियाँ ब्रान्डको प्रमुख दबदबा रहेको छ। चीनबाट १०,२०७ युनिट इभी आयात भएका छन्, जसको कुल मूल्य २४ अर्ब ७३ करोड २६ लाख रुपैयाँ रहेको छ। चिनियाँ ब्रान्डको बजार हिस्सा ७५.२२ प्रतिशत पुगेको छ। त्यसपछि भारतको ब्रान्डको उपस्थिति बलियो रहेको छ, जहाँ ३,२४६ युनिट इभी आयात भएका छन्।

नेपालमा इभी आयात गर्ने प्रमुख मुलुकहरूमा चीन, भारत, कोरिया, जर्मनी, अमेरिका, र इन्डोनेशिया रहेका छन्। नेपालका सडकमा अहिले बीवाईडी, टाटा, एमजी, नेटा, र हुन्डाई जस्ता ब्रान्डहरू द्रुत गतिमा दौडिरहेका छन्।