नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ मा पूर्ण विद्युतीय प्रिमियम एसयूभी जेइको जे ५ सार्वजनिक हुने भएको छ। चेरी अटोमोबाइल ग्रुपको न्यू इनर्जी ब्राण्ड ओमोडा/जेइको ले यस नयाँ एसयूभीलाई नेपाल ल्याएको हो। ओमोडा/जेइकोको आधिकारिक बिक्रेता एपीजी अटोमोबाइल ले एक्सपोबाट यसको बिक्री सुरु गर्ने योजना बनाएको छ।
जेइको जे ५ पहिलोपटक इन्डोनेसिया इन्टरनेशनल मोटर शो २०२५ मा प्रोटोटाइपको रूपमा प्रस्तुत गरिएको थियो र त्यसपछि अटो शाङ्घाइ २०२५ मा यसको सार्वजनिक डेब्यु गरिएको थियो।
यस मोडेलमा परम्परागत ग्रिलको सट्टा पारदर्शी प्यानल र ‘जेइको’ को लोगो राखिएको छ, जसमा स्लिक हेडलाइट र मिनिमल बम्परले मिलेर आधुनिक लुक दिएको छ। समग्र डिजाइन रेञ्ज रोभर इभोक बाट प्रभावित देखिन्छ, जसमा क्लामशेल हुड, चौडाइ ओगट्ने टेललाइट र पछाडिको स्पोइलरजस्ता विशेषताहरू छन्। यसमा पप–अप डोर ह्यान्डलको सट्टा परम्परागत ह्यान्डल र ए–पिलरहरू राखिएका छन्।
जेइको जे ५ ईभीमा ६०.९ किलोवाट घण्टा क्षमता भएको ब्याट्री जडान गरिएको छ, जसले १५५ किलोवाट (२०७ अश्वशक्ति) शक्ति र २८८ न्युटन मिटर टर्क उत्पादन गर्ने इलेक्ट्रिक मोटरसँग मिलेर काम गर्छ। यो गाडी ० देखि १०० किलोमिटर प्रतिघण्टा गति पुग्न मात्र ७.७ सेकेन्ड लिन्छ।
डब्लुएलटिसी परीक्षण अनुसार यसले ४०० किलोमिटर र एनइडिसी मापदण्ड अनुसार ४७० किलोमिटर यात्रा गर्न सक्ने दाबी गरिएको छ। ब्याट्रीमा छिटो चार्ज सुविधा उपलब्ध छ, जसअन्तर्गत ३० प्रतिशतदेखि ८० प्रतिशत चार्ज हुन केवल २७ मिनेट लाग्छ।
नेपालमा यस गाडीको मूल्य ६० लाख रुपैयाँभन्दा कम पर्ने अनुमान गरिएको छ। यो मोडेलले नेपाली बजारमा विद्युतीय सवारीको लोकप्रियता बढाउने अपेक्षा गरिएको छ।