यार्सागुम्बा २३ करोड र अम्रिसो १ अर्ब रुपैयाँ बराबर निर्यात

नेपालले गत आर्थिक वर्ष २०८१/०८२ मा यार्सागुम्बा र अम्रिसो गरी करिब १ अर्ब ४० करोड रुपैयाँ बराबरको जडीबुटी र कच्चा पदार्थ निर्यात गरेको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालले ५४८ केजी यार्सागुम्बा १० वटा विभिन्न देशमा २३ करोड ७५ लाख ३० हजार रुपैयाँ बराबर निर्यात गरेको हो।

त्यसमध्ये सबैभन्दा धेरै हङकङमा १२ करोड ९३ लाख ८१ हजार रुपैयाँको यार्सागुम्बा पठाइएको छ। त्यसपछि चीनमा ३ करोड ८४ लाख ३९ हजार, सिंगापुरमा १ करोड ८८ लाख ४१ हजार, अमेरिकामा १ करोड ५१ लाख ५ हजार, र बेलायतमा ५९ लाख ३१ हजार रुपैयाँको निर्यात भएको छ। जापानमा ४ लाख ५ हजार, रुसमा २ लाख ९५ हजार, मलेसियामा ६३ लाख ३४ हजार, भने थाइल्याण्डमा मात्र ६ हजार रुपैयाँको निर्यात भएको हो।

यसैबीच, अम्रिसोको निर्यातमा नेपालले उल्लेख्य उपलब्धि हासिल गरेको छ। गत वर्ष नेपालले १ करोड ५१ लाख केजी अम्रिसो निर्यात गरी १ अर्ब १५ करोड ७ लाख रुपैयाँ आम्दानी गरेको छ। भन्सार विभागका अनुसार सम्पूर्ण अम्रिसो भारतमै निर्यात गरिएको हो।