अबदेखि सेयर बजारमा पैसा नहुँदा सेयर किन्न नपाइने भएको छ। नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममार्फत यस्तो व्यवस्था लागू गर्न लागेको हो।
बोर्डले लगानीकर्ताको ट्रेडिङ म्यानेजमेन्ट सिस्टम (TMS) सिधै बैंक खातासँग लिङ्क गरिने र खातामा पर्याप्त रकम भएमा मात्र सेयर खरिद आदेश कार्यान्वयन हुने प्रावधान अघि सारेको छ।
मंगलबार सार्वजनिक नीति अनुसार, दोस्रो बजारमा सेयर खरिद गर्दा लगानीकर्ताले पहिले नै आफ्नो खातामा कारोबारका लागि आवश्यक रकम राख्नुपर्नेछ। यस प्रणाली लागू भएपछि हाल प्रचलित ‘उधारोमा सेयर कारोबार’ गर्ने चलनमा रोक लाग्नेछ।
बोर्डले यस कदमलाई सेयर बजारमा पारदर्शिता, जवाफदेहिता र जोखिम नियन्त्रणका दृष्टिले महत्वपूर्ण बताएको छ। अब लगानीकर्ताले कारोबार अघि नै आफ्नो वित्तीय तयारी सुनिश्चित गर्नुपर्ने भएकाले बजार अनुशासित र व्यवस्थित हुने अपेक्षा गरिएको छ।