ओलीको दाबी : निर्यातमा ८१.८० प्रतिशतको ऐतिहासिक छलाङ

पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले चालु आर्थिक वर्षमा नेपालको निर्यातमा अभूतपूर्व वृद्धि भएको दाबी गरेका छन्। बिहीबार सामाजिक सञ्जालमार्फत् उनले नेपालले हालसम्मकै उच्च निर्यात स्तरमा पुग्न सफल भएको जनाएका हुन्।

ओलीका अनुसार चालु आर्थिक वर्षमा नेपालले २ खर्ब ७७ अर्ब ३ करोड २ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात गरेको छ। उनले यसलाई ऐतिहासिक उपलब्धिका रूपमा प्रस्तुत गर्दै भनेका छन्, “हामी सरकारमा आउनु अगाडि अर्थात् अघिल्लो वर्ष कुल निर्यात १ खर्ब ५२ अर्ब ३८ करोड १२ लाख रुपैयाँ मात्रै थियो। सो तुलनामा अहिलेको निर्यात ८१.८० प्रतिशतले वृद्धि भएको छ।”

उनले यो वृद्धिलाई सरकारको उत्पादनमुखी नीति, निर्यात प्रवर्धन र उद्यमशीलता प्रोत्साहनको परिणामका रूपमा व्याख्या गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत् ओलीले लेखेका छन्, “यस वर्ष निर्यातमा इतिहासकै उच्च बिन्दु हासिल भएको छ।”

यद्यपि ओलीको दाबीलाई कतिपयले राजनीतिक उद्देश्यप्रेरित आँकडा प्रस्तुतिको रूपमा समेत हेरेका छन्। तर राष्ट्रको निर्यात क्षमतामा आएको सकारात्मक परिवर्तनलाई उत्साहजनक संकेतको रूपमा समेत लिइएको छ। विशेषज्ञहरू भन्छन्, यदि निर्यात वृद्धिको यो गति स्थिर रूपमा कायम रह्यो भने नेपालको व्यापार घाटा न्यूनिकरणमा उल्लेखनीय टेवा पुग्न सक्छ।