विमानस्थल विकासमा ४९ करोड ९४ लाख, गोठगाउँ सहायक एयरपोर्ट बन्ने

नेपाल नागरिक उड्डयन प्राधिकरणले देशका साना, सुदूर तथा सम्भावनायुक्त विमानस्थलहरूमा पूर्वाधार विस्तार र सुदृढीकरणका लागि ४९ करोड ९४ लाख रुपैयाँ विनियोजन गरेको छ। बुधबार सार्वजनिक गरिएको २०८२/८३ को बजेटमा यो रकम मुख्यतः टर्मिनल भवन, टावर निर्माण, धावनमार्ग सुधार, जग्गा प्राप्ति, र आयोजना प्रस्ताव निर्माणमा खर्च गरिने उल्लेख छ।

बजेट विवरणअनुसार, महेन्द्रनगर, भोजपुर, दिपायल, डोटी, भरतपुर, गुल्मी, अछाम, कपिलवस्तु, जाजरकोट, कोहलपुर, रामेछाप, बेलौरी, सिमिकोट, गोठगाउँलगायतका विमानस्थलमा पूर्वाधार सुधारको कार्य अघि बढाइनेछ। विशेषगरी सुदूरपश्चिमका विमानस्थलहरूलाई प्राथमिकता दिइएको देखिन्छ।

प्राधिकरणले सिमिकोट विमानस्थलको धावनमार्ग विस्तारका लागि ७ करोड १४ लाख रुपैयाँ, गोठगाउँ विमानस्थललाई काठमाडौँको सहायक विमानस्थलको रूपमा विकास गर्न ९ करोड रुपैयाँ, र दार्चुला विमानस्थलको जग्गा प्राप्तिका लागि ९ करोड रुपैयाँ छुट्याएको छ। यिनै योजनाले देशको हवाई पूर्वाधारको सन्तुलित विकासतर्फ ठूला संकेत दिएका छन्।

त्यस्तै, महेन्द्रनगर र भोजपुर विमानस्थलमा नयाँ टर्मिनल तथा टावर निर्माणका लागि जनही १ करोड, रामेछापका दुई फरक आयोजनामा गरी १ करोड रुपैयाँ, भैरहवामा बुटिक निर्माण तथा चट्याङ्को जोखिम न्यूनीकरणसम्बन्धी परियोजनाका लागि गरी ४ करोड रुपैयाँ बजेट छुट्याइएको छ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि २३ करोड ८० लाख, पोखरा विमानस्थलका लागि ५१ करोड, र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधारका लागि सबैभन्दा धेरै ४ अर्ब १५ करोड रुपैयाँ विनियोजन गरिएको छ।

प्राधिकरणले चालु आर्थिक वर्षका लागि कुल ३१ अर्ब ४० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ, जसमा पूँजीगत खर्च १२ अर्ब ३९ करोड ७० लाख, कार्य सञ्चालन ६ अर्ब १५ करोड ६७ लाख, र वित्तीय व्यवस्थापनतर्फ १२ अर्ब ८५ करोड रुपैयाँ विनियोजन गरिएको छ।