बीरगञ्ज भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा कुल ६ खर्ब २५ अर्ब ९० करोड रुपैयाँ बराबरको आयात र १ खर्ब १ अर्ब ८४ करोड रुपैयाँको निर्यात दर्ता गरेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा आयातमा १५.१४ प्रतिशत र निर्यातमा आश्चर्यजनक रूपमा २२७.०९ प्रतिशतको वृद्धि हो।
भन्सार कार्यालयका प्रमुख दीपक लामिछानेका अनुसार, अघिल्लो वर्षको तुलनामा ८२ अर्ब ३० करोड रुपैयाँ बढीको वस्तु आयात भएको हो। यसवर्ष सबैभन्दा धेरै पेट्रोलियम पदार्थ (१ खर्ब १ अर्ब ८० करोड) आयात गरिएको छ। त्यसपछि कच्चा सोयाबिन तेल (५७ अर्ब ६० करोड), मेसिनरी तथा पार्टपुर्जा (३६ अर्ब ६३ करोड) र फलामजन्य सामग्री (३४ अर्ब ४१ करोड) मुख्य आयात वस्तु रहेका छन्।
निर्याततर्फ हेर्दा, अघिल्लो वर्षको तुलनामा ७० अर्ब ७० करोड रुपैयाँ बढीको वस्तु निर्यात भएको छ। निर्यातमा शुद्ध सोयाबिन तेल सबैभन्दा अगाडि रहेको छ। २९ करोड १४ लाख लिटर सोयाबिन तेल ६१ अर्ब ४५ करोड रुपैयाँ बराबरमा निर्यात गरिएको छ। यस्तै फलफूलको जुस तथा फलाम र फलामजन्य वस्तुहरू समेत प्रमुख निर्यात सूचीमा परेका छन्।