परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले आर्थिक कूटनीति र जनस्तरमा सम्बन्ध विस्तारमा अवैतनिक वाणिज्यदूतहरूको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको बताइन्। बुधबार काठमाडौंमा आयोजित अनररी कन्सुलर कोर नेपाल (एचसीसी–एन) को १८औँ वार्षिक साधारणसभा र चार्टर डे समारोहमा बोल्दै मन्त्री राणाले नेपाल र अवैतनिक वाणिज्यदूतहरूको प्रतिनिधित्व गर्ने राष्ट्रहरू बीचको सम्बन्धलाई थप मजबुत बनाउनको लागि यी वाणिज्यदूतहरूको योगदानलाई उच्च मूल्यांकन गरिन्।
मन्त्री राणाले भनिन्, “वर्तमान विश्वमा द्विपक्षीय सहयोग र साझेदारीलाई साझा समृद्धिका लागि अगाडि बढाउन आवश्यक छ। व्यापार प्रवद्र्धन, वैदेशिक लगानी आर्कषण, बजारसम्मको पहुँचको सुनिश्चितता, अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि प्रवद्र्धनमा अवैतनिक वाणिज्यदूतहरूको योगदान अनिवार्य र महत्वपूर्ण छ।”
कार्यक्रममा एचसीसीएन का डीन चन्द्रप्रसाद ढकालले अवैतनिक वाणिज्यदूतहरूको भूमिका केवल औपचारिक प्रतिनिधित्वमा सीमित नगरी, नेपालको आर्थिक कूटनीतिको सक्रिय साझेदारको रूपमा रहेको उल्लेख गरे। उनले भने, “हामी सेरेमोनियलबाट माथि उठेर सक्षम, सक्रिय र समर्पित ढंगले नेपालको कूटनीति र विकासमा योगदान दिइरहेका छौँ।”
ढकालले वर्तमान विश्वको परिप्रेक्ष्यमा आर्थिक कूटनीतिको महत्व तीव्र गतिमा बढिरहेको टिप्पणी गर्दै भने, “आजको विश्वव्यापी युगमा आर्थिक कूटनीति विकल्प होइन, आवश्यकता हो।”
त्यसैगरी, आइएमई ग्रुपका अध्यक्ष र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष रहेका ढकालले एचसीसीएनको प्रतिबद्धता दोहोर्याउँदै भने, “नेपाल अल्पविकसित राष्ट्र (एलडीसी) को श्रेणीबाट स्तरोन्नति हुने तयारीमा रहेकाले अवैतनिक वाणिज्यदूतहरूले आर्थिक रूपान्तरणमा स्वयम्सेवकको रूपमा काम गर्न सक्नेछन्।”
अवैतनिक वाणिज्यदूतहरूले वैदेशिक लगानी, नवप्रवर्तन, व्यापार, पर्यटन र गैरआवासीय नेपालीहरूसँगको सहकार्यमा योगदान पुर्याउन सक्ने सम्भावनाका बारेमा ढकालले केन्द्रीय महत्वको कुरा गरे।
समारोहमा संयुक्त राष्ट्र संघका पूर्व उप महासचिव ज्ञानचन्द्र आचार्य ले कूटनीति र अन्तर्राष्ट्रिय समुदायमा नेपालको युनिक उपस्थिति र बदलिँदो विकासलाई समन्वय गरेर अघि बढ्न अवैतनिक वाणिज्यदूतहरूको भूमिका प्रष्ट पारे।
समारोहको अवसरमा ढकालले एचसीसीएनको डीन पद नेपालका लागि बुल्गेरियाका अवैतनिक वाणिज्यदूत भोलाविक्रम थापा लाई हस्तान्तरण गरे। कार्यक्रममा उच्च सरकारी अधिकारी, कूटनीतिज्ञ र अवैतनिक वाणिज्यदूतहरूको उपस्थिति थियो।