पूर्व पश्चिम राजमार्गअन्तर्गत चितवनको रत्ननगर नगरपालिका ३ शान्ति चोकमा सागसब्जी बोक्ने बोलेरो गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा मोटरसाइकल चालक चितवनकै कालिका नगरपालिका-२ का ३५ वर्षीय मुकुन्द कँडेल रहेका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार गए राती १२ः३० बजे दुर्घटना भएको हो।
खैरहनी बाट टाँडीतर्फ आउँदै गरेको प्रदेश २–०२–००१ च ०५१० नम्बरको सागसब्जी बोक्ने बोलेरोले जनकपुरबाट काठमाडौँतर्फ आउँदै गरेको बा प्र ०३–००१ख३३६५ नम्बर रात्रिबसलाई ओभरटेक गर्ने क्रममा टाँडीबाट खैरेहनीतर्फ जाँदै गरेको बा प्र ०६–००१प ३५०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा कँडेलको मृत्यु भएको प्रहरीले जनाएको छ।
बोलेरोको ठक्करबाट गम्भीर घाइते कँडेलको उपचारका क्रममा भरतपुर अस्पतालमा राति १ः१९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। बोलेरो र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
रासस