बागमती प्रदेश सरकारअन्तर्गतको सहकारी तथा गरिबी निवारण मन्त्रालयले पाँचवटा समस्याग्रस्त सहकारी संस्थाका ऋणीहरुलाई भदौ मसान्तसम्म बक्यौता रकम तिर्न अन्तिम ताकेता दिएको छ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय अनामनगरले सार्वजनिक सूचना जारी गर्दै ऋणीहरुलाई तोकिएको समयभित्र रकम बुझाउन कडा सन्देश दिएको हो। समितिले ऋण तिर्न पटक-पटक आग्रह गर्दा पनि बेवास्ता गर्ने ऋणीहरूसँग अब कानुनी कारवाही गरिने चेतावनी दिएको छ।
सूचना अनुसार, सिभिल बचत तथा ऋण सहकारी संस्था, दर्शन बचत तथा ऋण सहकारी संस्था, नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था, लालीगुराँस बचत तथा ऋण सहकारी संस्था र सुमेरु बचत तथा ऋण सहकारी संस्था ताकेता परेका छन्। यी संस्थाहरू क्रमशः २०८० भदौ २१, २०८१ कात्तिक ११ र २०८१ पुस २८ मा समस्याग्रस्त सूचीमा सूचीकृत भएका हुन्।
समितिले भनेको छ कि यदि आगामी भदौ ३१ भित्र कुनै पनि ऋणीले आफ्नो बाँकी साँवा वा ब्याज रकम बुझाउन अस्वीकार गरेमा, कानूनी बमोजिम ब्याजसहित हर्जाना रकम संकलन गरिनेछ। त्यस्तै, अचल सम्पत्ति कब्जा गर्नेदेखि कानुनी मुद्दा दायर गर्नेसम्मका प्रक्रिया अगाडि बढाइने जनाइएको छ।