भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्दै संसद् बहिष्कार गर्दै आएको रास्वपाप्रति नेपाली कांग्रेसका प्रमुख सचेतकले कटाक्ष गर्नुभएको छ ।
आज शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले भिजिट भिसामा गएर विदेशमा घरजम गरेको व्यक्ति स्वदेशमा फर्केर गृहमन्त्री बनिसकेको भन्दै चिन्ता नगर्न रास्वपासँग आग्रह गर्नुभएको हो ।
‘भिजिट भिसाको छानबिन माग गरिरहेका रास्वपाका साथीहरू धेरै चिन्ता नगर्नुस्, हामीले अभ्यास गरिसकेका छौं । भिजिटमा बाहिर जाने, त्यही नागरिकता लिने, त्यही घरजम गर्ने, केही समयपछि नेपाल फर्केर दुई चार वटा काण्ड मच्चाएर पार्टी खोल्ने, गृहमन्त्री हुँदै उपप्रधानमन्त्री बन्ने,’ रास्वपा सभापति रवि लामिछानेप्रति कटाक्ष गर्दै घिमिरेले भन्नुभयो ।
यसअघि संसद्को बैठकमा गृहमन्त्री रमेश लेखकले लामिछाने स्वयं भिजिट भिसामा अमेरिका गएर उतैको नागरिकता लिएको सूचना रहेको बताउनुभएको थियो ।
कांग्रेस सचेतक घिमिरेले भिजिट भिसामा गएर उतैको पासपोर्ट लिनु गलत काम भएको उल्लेख गर्नुभयो ।
भिजिट भिसा प्रकरणमा छानबिनको माग गर्दै रास्वपाले शुक्रवारको प्रतिनिधिसभा बैठकपनि बहिष्कार गरेको थियो ।
बहिष्कार अघि रास्वपा सांसद विनिता कठायतले संसदीय छानबिन समितिको मागमा आफूहरू यथावत् रहेको जानकारी दिनुभयो ।