ज्योति विकास बैंकले आफ्नो स्थापनाको १७औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न गर्दै १८औं वर्षमा गौरवपूर्ण यात्रा आरम्भ गरेको छ। वि.सं. २०६५ सालको श्रावण ९ गते स्थापना भएको बैंकले यस वर्षको श्रावण ९ गते, शुक्रबार, संस्थागत उपलब्धि, नवप्रवर्तन र सामाजिक उत्तरदायित्वका थुप्रै पहलमार्फत महत्वपूर्ण मोडमा प्रवेश गरेको हो।
प्रधान कार्यालय परिसरमा आयोजित कार्यक्रमको अध्यक्षता बैंकका अध्यक्ष हरिचन्द्र खड्काले गर्नुभएको थियो। समारोहमा सञ्चालक समितिका सदस्य, पूर्वअध्यक्ष, पूर्वसञ्चालक, कर्मचारी वर्ग र विभिन्न साझेदार संस्थाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। अध्यक्ष खड्काले पानसमा दीप प्रज्वलन गरी औपचारिक रूपमा कार्यक्रमको उद्घाटन गरेका थिए।
डिजिटल सेवा विस्तार
बैंकले वार्षिकोत्सवकै अवसरमा डिजिटल सेवा विस्तार गर्दै २४ घण्टा उपलब्ध “AI च्याटबट – ज्योति” सार्वजनिक गरेको छ। सरल इन्टरफेस र भाषिक विकल्पहरूसहितको यो च्याटबटले ग्राहकहरूलाई बैंकिङ जानकारीमा सहज पहुँच दिनेछ। साथै, Interbank Teller QR सेवा पनि सुरु गरिएको छ, जसबाट खाता नभएका व्यक्तिहरूले पनि मोबाइल बैंकिङ वा खल्ति वालेट प्रयोग गरी नगद झिक्न सक्नेछन्। यो सुविधा विशेषतः एटीएम वा शाखा पुग्न कठिन हुने अवस्थाका लागि प्रभावकारी हुने बैंकले जनाएको छ।
सामाजिक उत्तरदायित्वका नवीन पहल
वार्षिकोत्सवका अवसरमा बैंकले आफ्नो “हाम्रो विकास प्रवर्द्धन कोष” मार्फत चारवटा महत्वाकांक्षी सामाजिक उत्तरदायित्वका परियोजना सार्वजनिक गरेको छ:
- तिलगंगा इन्स्टिच्युट अफ अफथ्याल्मोलोजीसँग सहकार्यमा सप्तरीको कञ्चनरुपमा निःशुल्क आँखा शिविर तथा मोतिविन्दु शल्यक्रिया,
- राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्यमा दुर्गम क्षेत्रका स्वास्थ्य संस्थामा १० थान ‘न्यानो नानी’ बेबी वार्मर जडान,
- ई-नेबल नेपालसँगको सहकार्यमा १७ जना शारीरिक अपाङ्गता भएका बालबालिकालाई थ्रीडी प्रिन्टेड कृत्रिम हात वितरण,
- लुम्बिनी वर्ल्ड पिस फोरमसँगको साझेदारीमा सातै प्रदेशमा १,७०० वृक्षारोपण कार्यक्रम।
कर्मचारी र परिवारका लागि सशक्तिकरण
बैंकले कर्मचारी तथा उनीहरूका बालबालिकाको प्रतिभा उजागर गर्न “ज्योति गट ट्यालेन्ट” प्रतियोगिताको दोस्रो संस्करण आयोजना गऱ्यो। विभिन्न सिर्जनात्मक प्रस्तुतिहरूबीच उत्कृष्ट प्रदर्शन गर्ने सहभागीहरूलाई ट्रफी र प्रमाणपत्रद्वारा सम्मान गरियो। साथै, सबै सहभागीलाई प्रशंसा पत्र प्रदान गरिएको थियो।
प्रेरणादायी सन्देश बोकेको ‘Corporate Anthem’
बैंकले वार्षिकोत्सवकै अवसरमा आफ्नो आधिकारिक ‘Corporate Anthem’ सार्वजनिक गरेको छ, जसले बैंकको मूल्य, मान्यता, ध्येय र दिगो यात्रालाई संगीतमार्फत प्रभावशाली तरिकाले प्रस्तुत गरेको छ। यो एन्थमले कर्मचारी, ग्राहक र साझेदारहरूसँगको सम्बन्धलाई थप मजबुत बनाउने विश्वास लिइएको छ।
स्वास्थ्य सेवामा पनि अग्रसर
वार्षिकोत्सवकै दिन बैंकले रक्तदान कार्यक्रम तथा निःशुल्क स्वास्थ्य तथा आँखा जाँच शिविर समेत आयोजना गऱ्यो, जसमा बैंकका कर्मचारी, ग्राहक र सर्वसाधारण गरी करिब ५५ जनाको उल्लेखनीय सहभागिता थियो।
योगदानकर्ताको सम्मान
कार्यक्रममा विगत १० र १५ वर्षदेखि बैंकमा कार्यरत रहेर योगदान पुर्याउने कर्मचारीहरूलाई विशेष सम्मान गरियो। यो सम्मानले कर्मचारी समर्पणको उच्च मूल्याङ्कन गर्नुका साथै समावेशी संस्थागत संस्कारलाई प्रतिबिम्बित गरेको देखिन्छ।
वक्ताहरूको मन्तव्य
कार्यक्रमलाई सम्बोधन गर्दै बैंकका अध्यक्ष हरिचन्द्र खड्काले १७ वर्षको सफल यात्रामा साथ दिने ग्राहक, शेयरधनी, नियामक निकाय, कर्मचारी र शुभेच्छुकप्रति आभार व्यक्त गरे। उनले आगामी दिनहरूमा पनि बैंक सामाजिक समृद्धि र मानव विकासको यात्रामा निरन्तर क्रियाशील रहने उल्लेख गरे।
त्यसैगरी, प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले संस्थापक सञ्चालक, शेयरधनी, कर्मचारी र ग्राहकवर्गप्रति कृतज्ञता व्यक्त गर्दै, बैंकका दीर्घकालीन उद्देश्यहरू प्राप्त गर्न संस्थागत दक्षता र सामाजिक प्रतिबद्धतामा कुनै सम्झौता नगर्ने स्पष्ट सन्देश दिए।
संस्थागत साझेदार संस्थाहरू – तिलगंगा इन्स्टिच्युट, राष्ट्रिय आविष्कार केन्द्र, ई-नेबल नेपाल, र लुम्बिनी वर्ल्ड पिस फोरमका प्रतिनिधिहरूले बैंकसँगको सहकार्यले समाजमा गहिरो प्रभाव पारेको बताउँदै, आगामी दिनहरूमा पनि यस्तो अभूतपूर्व साझेदारी आवश्यक रहेको धारणा राखे।
सेवा सञ्जाल
हाल ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी १२१ शाखा, ३ विस्तारित काउन्टर, र ७५ एटीएम मार्फत आफ्ना सेवा विस्तार गर्दै आएको छ।