अमेरिकाको डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार एउटा विमान ठूलो दुर्घटना हुनबाट जोगिएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिकन एयरलाइन्सको उडान ३०२३ विमानको पछाडिको भागमा आगो लागेको हो।
घटना स्थानीय समयअनुसार हिजो शनिबार दिउँसो २:४५ बजेको हो। मियामी जाँदै गरेको उक्त विमानको ल्यान्डिङ गियर फेल भएको हो।
विमानमा १७३ यात्रु र ६ जना चालक दलका सदस्य थिए। सबैलाई आपत्कालीन स्लाइडमार्फत बाहिर निकालिएको थियो।
सार्वजनिक भिडिओमा बालबालिकासहित यात्रुहरू आत्तिएर स्लाइडबाट बाहिर निस्किएको देखिन्छ।
घटनापछि उडान रद्द गरियो।
बोइङ ७३७ म्याक्स ८ विमानको टायरमा खराबीका कारण त्यस्तो भएको एयरलाइन्सले बताएको छ।
घटनामा परी ६ जनालाई सामान्य चोटपटक लागेको छ, जसमध्ये एक जनालाई अस्पताल भर्ना गरिएको छ।
अमेरिकाको एफएए (संघीय उड्डयन प्रशासन) र एयरलाइन्सले घटनाबारे अनुसन्धान गरिरहेका छन्।
हेर्नुहोस् भिडियो