रसुवागढीस्थित नेपाल–चीन सीमा नाका जोड्ने मितेरी पुलको पुनर्निर्माण कार्य औपचारिक रूपमा सुरु भएको छ। १० मिटर चौडा र १०० मिटर लामो उक्त पुल साउन २४ गते लेंदे खोलामा आएको भीषण बाढीले गम्भीर रूपमा क्षतिग्रस्त बनाएको थियो।
रसुवा जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार, आइतबारदेखि चिनियाँ पक्षले पुनर्निर्माण कार्यको थालनी गरेको हो।
यसअघि शनिबार प्रमुख जिल्ला अधिकारी पौडेलको नेतृत्वमा नेपाली उच्चस्तरीय टोलीले घटनास्थलको निरीक्षण गरेको थियो। निरीक्षणका क्रममा दुबै देशका अधिकारीहरूले निर्माणस्थलमै भर्चुअल बैठक गरी उद्धार तथा राहत कार्य, पुनर्निर्माणको प्राथमिकता र दीर्घकालीन संरचनाको योजना बारे विस्तृत छलफल गरेका थिए।
सीडीओ पौडेलका अनुसार, हाल नेपाली–चिनियाँ आवत–जावत र व्यापार बन्द भएपछि चिनियाँ पक्षले बैली ब्रिज निर्माणको काम सुरु गरेको छ। पहिलो चरणमा अस्थायी पुलका लागि ग्राउन्ड लेभलिङको काम अगाडि बढाइएको छ।
रसुवा प्रशासनका अनुसार यो अस्थायी पुल स्थानीय बासिन्दा, व्यापारी तथा सीमा नाका प्रयोगकर्ताका लागि तात्कालिक राहतको उपाय हुनेछ। दुवै देशका लागि स्थायी पुल निर्माण पनि उच्च प्राथमिकतामा राखिएको छ।
चिनियाँ पक्षले भदौको मध्यसम्म बैली ब्रिज निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ। त्यसैगरी, रसुवागढीमा निर्माणाधीन एकीकृत भन्सार भवनको काम भने अझै रोकिएको अवस्था छ।