शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कम्बोडियाका प्रधानमन्त्री हुन मानेट र थाईल्यान्डका कार्यवाहक प्रधानमन्त्री फुमथाम वेचायाचाई तत्काल युद्धविरामका लागि वार्ता गर्न सहमत भएको घोषणा गरेका छन्।
तीन दिनदेखिको घातक सीमा संघर्षपछिको यो कदमलाई शान्ति स्थापना तर्फको महत्त्वपूर्ण प्रयासका रूपमा हेरिएको छ। थाई प्रधानमन्त्री फुमथामले युद्धविराममा सैद्धान्तिक सहमति जनाए पनि कम्बोडियाबाट “इमान्दार प्रतिबद्धता” आवश्यक भएको बताएका छन्। साथै, उनले ट्रम्पलाई द्विपक्षीय संवादका लागि थाईल्यान्ड तयार रहेको सन्देश पनि पुर्याउन आग्रह गरे।
राष्ट्रपति ट्रम्पले दुवै पक्षलाई थप लडाइँ जारी रहे भविष्यका अमेरिकी व्यापार सम्झौतामा असर पर्न सक्ने चेतावनी दिएका छन्। “दुवै देश तत्काल युद्धविराम र शान्तिको खोजीमा छन्,” ट्रम्पले आफ्नो वक्तव्यमा लेखेका छन्।
यो हिंसात्मक झडपले हालसम्म ३० जनाभन्दा बढीको ज्यान लिएको छ भने १ लाख ३० हजारभन्दा बढी मानिस विस्थापित भएका छन्। पछिल्लो १३ वर्षको सबैभन्दा भीषण संघर्षका रूपमा यो भिडन्त फैलिँदै थाईल्यान्डको त्राट प्रान्त र कम्बोडियाको पुरसतसम्म पुगेको छ।
थाईल्यान्डका अनुसार उनीहरूले २० जनाको ज्यान गुमाएका छन् (७ सैनिक र १३ सर्वसाधारण), भने कम्बोडियाले १३ जनाको मृत्यु (५ सैनिक र ८ सर्वसाधारण) पुष्टि गरेको छ। यो तनाव गत मे महिनामा एक कम्बोडियन सैनिकको हत्या पछि सुरु भएको हो, जसले दुवै देशबीच सैनिक परिचालनलाई बढावा दिएको थियो।