बुद्ध एयरले आगामी सेप्टेम्बरदेखि काठमाडौं–कलकत्ता सीधा हवाई सेवा पुनः सुरु गर्ने घोषणा गरेको छ। करिब पाँच वर्षपछि यो मार्ग पुनः सञ्चालनमा आउन लागेको हो। कम्पनीका अनुसार कोभिड महामारी र यात्रु संख्याको गिरावटका कारण अस्थायी रूपमा रोकिएको सेवा अब पुनः सुचारु हुने भएको हो।
उक्त उडानले नेपाल–भारतबीचको पर्यटन, व्यापार, शिक्षा र सांस्कृतिक सम्बन्धलाई नयाँ उचाइमा पु-याउने अपेक्षा गरिएको छ। बुद्ध एयरले सन् १९९७ मा एभरेस्ट एक्स्पेरियन्स उडानबाट आफ्नो सेवा सुरु गरेको थियो र हाल ६५ प्रतिशत हवाई बजार हिस्सा ओगटेको छ।
हालसम्म बुद्ध एयरले भारतको वाराणसीसहित १५ गन्तव्यमा सेवा विस्तार गरिसकेको छ।
यात्रुका लागि सहज र छोटो विकल्प
काठमाडौं–कलकत्ता उडान केवल ९० मिनेटको हुनेछ, जसले यात्रुलाई सहज, छरितो र आरामदायक अनुभव दिने विश्वास कम्पनीले व्यक्त गरेको छ। यसले सप्ताहन्त भ्रमण, पारिवारिक यात्रा र छोटो छुट्टीका योजना बनाउन चाहने यात्रुहरूका लागि विशेष अवसर खोल्नेछ।
पर्यटन र धार्मिक यात्रा प्रवर्द्धन
नेपाल–भारतबीचको गहिरो धार्मिक र सांस्कृतिक सम्बन्धलाई समेत सशक्त बनाउने यो उडानले तीर्थयात्रीहरूका लागि पशुपतिनाथ, स्वयम्भूनाथदेखि कालीघाट, बेलूर मठसम्मको यात्रा सहज बनाउनेछ।
दुवै शहर युनेस्को विश्व सम्पदा सूचीमा परेका क्षेत्रहरू भएकाले यो सेवा दक्षिण एशियाली विरासतको अनुभव लिन चाहने पर्यटकका लागि पनि आकर्षण बन्नेछ।
विद्यार्थी, युवा र व्यवसायीलाई अवसर
सस्तो र छरितो सेवा भएकाले विद्यार्थीहरूका लागि शैक्षिक भ्रमण, अन्तरसंस्कृतिक आदानप्रदान, सेमिनार तथा कार्यशालामा सहभागी हुने अवसर बढ्नेछ।
उहीगरी, कलकत्ता नेपालको मुख्य समुद्री व्यापार केन्द्र भएको हुँदा यो सीधा उडानले व्यापारिक सम्पर्कलाई गति दिनेछ। थोरै समयमा व्यापारिक भेटघाट, लगानी खोजी र आपूर्ति श्रृंखला व्यवस्थापन सहज हुने कम्पनीको विश्वास छ।
ऐतिहासिक सम्बन्धको पुनर्जागरण
बुद्ध एयरले यो सेवा दुई देशबीचको ऐतिहासिक मित्रता, साझा संस्कृति र भविष्यका सम्भावनालाई पुनः उजागर गर्ने अवसर भएको बताएको छ। ‘यो केवल यात्रा होइन, साझा कथाहरूको पुनः आगमन हो,’ कम्पनीको विज्ञप्तिमा उल्लेख छ, ‘हामी यात्रुहरूका सपनालाई आकाशमा उडाउने सेतु बन्न चाहन्छौं।’ बुद्ध एयरले टिकट बुकिङ खुला गरिसकेको छ र समयमै स्थान सुरक्षित गर्न यात्रुहरूलाई आग्रह गरेको छ।