नेपाल पर्यटन बोर्डद्धारा १ अर्ब ६० करोडको बजेट सार्वजनिक

नेपाल पर्यटन बोर्डले चालु आर्थिक वर्ष २०८२–८३ को लागि १ अर्ब ६० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। कोरोना महामारीपछि शिथिल अवस्थामा रहेका पर्यटन क्षेत्रलाई पुनः उर्जाशील बनाउन र व्यावसायिक, प्रभावकारी र दिगो बनाउने उद्देश्यले यो बजेट तयार गरिएको हो।

बोर्डका अनुसार, यो बजेट पर्यटन प्रवाहलाई बढाउने, आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्ने र समग्र पर्यटन प्रणालीलाई चलायमान बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ। पर्यटन क्षेत्रको विकासका लागि बोर्डले विभिन्न योजनाहरू सार्वजनिक गरेको छ।

बजेटको प्रमुख हिस्सा पर्यटन बजार व्यवस्थापन र प्रवद्र्धनमा केन्द्रित गरिएको छ। कूल बजेटको ४३ करोड ६१ लाख रुपैयाँ यस शीर्षकमा विनियोजन गरिएको छ। कर्मचारी र कार्यालय सञ्चालनका लागि २६ करोड २७ लाख, पर्यटन सम्पदा र संरचना विकासका लागि १८ करोड ६३ लाख, जनसम्पर्क र प्रचारप्रसारका लागि १२ करोड १५ लाख रुपैयाँ छुट्याइएको छ।

साथै, पोखरा स्थित गण्डकी प्रदेश कार्यालयका लागि ११ करोड ६६ लाख रुपैयाँ र अन्य नयाँ प्रादेशिक कार्यालय स्थापना र सञ्चालनका लागि ११ करोड १२ लाख रुपैयाँ विनियोजन गरिएको छ। बोर्डले विशेष प्रवद्र्धनात्मक गतिविधिका लागि ४ करोड ६२ लाख, कार्यकारी समिति र प्रमुखको सचिवालय सञ्चालनका लागि ३ करोड र अनुसन्धान, योजना तथा अनुगमन कार्यमा २ करोड ७६ लाख रुपैयाँ विनियोजन गरेको छ।

नेपाल पर्यटन बोर्डले १५ प्रतिशत पर्यटन आय वृद्धि गर्ने लक्ष्य राखेको छ। यसका लागि पर्यटक आगमन बढाउने, नयाँ पूर्वाधार संरक्षण गर्ने, जनशक्ति उत्पादन र डिजिटल प्रवद्र्धनमा ध्यान दिइने छ। बोर्डले नेपाललाई सुरक्षित र आकर्षक गन्तव्यको रूपमा प्रवद्र्धन गर्न ५० प्रमुख स्रोत बजारमा कार्यक्रम गर्ने योजना ल्याएको छ।

यस वर्ष लुम्बिनी र सुदूरपश्चिममा प्रादेशिक कार्यालय खोल्ने तयारी गरिएको छ र माइस (सभा, सम्मेलन, सेमिनार) पर्यटन प्रवद्र्धनका लागि २ करोड रुपैयाँ छुट्याइएको छ। साथै, विदेशी पर्यटकलाई लक्षित गरी आयोजित कार्यक्रमहरूमा ७५ प्रतिशत अन्तर्राष्ट्रिय सहभागिता सुनिश्चित गरिनेछ।