थाई-कम्बोडिया सीमा तनावबीच नेपालीको सुरक्षामा सतर्कता

थाईल्यान्ड र कम्बोडियाको सीमा क्षेत्रमा जारी झडपलाई मध्यनजर गर्दै परराष्ट्र मन्त्रालयले बैंककस्थित नेपाली दूतावासलाई सतर्क रहन निर्देशन दिएको छ। मन्त्रालयले सो क्षेत्रका नेपालीहरूको अवस्थाबारे नियमित जानकारी लिँदै सुरक्षाको अनुगमन गर्न दूतावासलाई आग्रह गरेको हो।

बुधबारदेखि सुरु भएको थाई सुरक्षाकर्मी र कम्बोडियन फौजबीचको सीमा झडप हालसम्म पनि जारी छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार, झडपमा कम्तीमा ३३ जनाको ज्यान गएको पुष्टि भएको छ। परिस्थिति नियन्त्रणमा लिन थाईल्यान्डले आठवटा सीमावर्ती जिल्लामा मार्शल ल गाएको छ।

हालसम्म उक्त झडपग्रस्त क्षेत्रमा रहेका नेपालीहरूलाई कुनै समस्या नपरेको पुष्टि भएको छ। सरकारी अधिकारीका अनुसार, थाईल्यान्डमा करिब ८०,००० र कम्बोडियामा करिब ३,००० नेपालीहरू बसोबास गर्दै आएका छन्।

दूतावासले बताएको अनुसार, झडप भइरहेका प्राचीन प्रेह विहेयर र प्रासात टा मुएन थोम मन्दिर नजिकको क्षेत्रमा नेपालीहरू छैनन्। अन्य क्षेत्रका नेपालीहरू पनि पूर्ण रूपमा सुरक्षित रहेको जानकारी प्राप्त भएको छ।

परराष्ट्र मन्त्रालयले आवश्यक परेमा थप कदम चाल्ने बताएको छ भने हाललाई नेपाली समुदायलाई सजग रहन र आधिकारिक सूचना मात्रमा विश्वास गर्न अनुरोध गरिएको छ।