कुलमान र शाहीलाई न्युयोर्कमा ‘ग्लोबल हिरो’ सम्मान

नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद तथा प्रवक्ता ज्ञानेन्द्र शाहीलाई अमेरिका, न्युयोर्कमा आयोजित एक भव्य समारोहमा ‘ग्लोबल हिरो अवार्ड’ प्रदान गरिएको छ।

‘हामी नेपाली ग्लोबल’ नामक संस्थाले समाज, देश र राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै दुबै व्यक्तित्वलाई सम्मान गरेको हो। कार्यक्रममा संस्थाका अध्यक्ष अमृत लामा र उपाध्यक्ष सुनिता खत्रीले अवार्ड हस्तान्तरण गरेका थिए।

कुलमान घिसिङ: उज्यालो नेपालका अगुवा

सम्मान ग्रहण गर्दै कुलमान घिसिङले नेपालमा कहिल्यै नभएको १८ घण्टासम्मको लोडसेडिङ अन्त्य गर्न सामूहिक प्रयासको प्रशंसा गर्दै भने, “आज हरेक गाउँमा उज्यालो पुगेको छ। घाटामा रहेको प्राधिकरणलाई नाफामा पुर्‍याउन सफल भयौं।”

उनले आफूले सुरु गरेको ‘उज्यालो नेपाल अभियान’ को उल्लेख गर्दै शासन सुधार, सामाजिक न्याय, गरिबी निवारण, रोजगारी सिर्जना र निराशालाई आशामा रूपान्तरण गर्ने अभियानमा सबैको साथको आग्रह गरे। “यो सम्मानले मलाई अझ प्रेरित बनाएको छ,” उनले भने।

ज्ञानेन्द्र शाही: देश फर्कन आह्वान

ज्ञानेन्द्र शाहीले नेपाल प्राकृतिक सौन्दर्य र विविधतामा एकता भएको राष्ट्र भए पनि विश्वकै गरिब देशको सूचीमा परेको विडम्बना औंल्याउँदै भने, “हामीले आफ्ना क्षमता राष्ट्र निर्माणमा लगाउनु पर्छ। फर्कौं नेपाल, हामी फर्किने वातावरण बनाउँछौं।”

उनले कुलमान घिसिङलाई राष्ट्रका लागि प्रेरणादायी पात्रको रूपमा प्रस्तुत गर्दै हरेक क्षेत्रमा यस्ता नायकहरूको आवश्यकता रहेको बताए।

शाहीले वंशजका आधारमा दिइने नागरिकता खारेजीको विरोध गर्दै देश विकासमा इमान्दारीपूर्वक लाग्न सबैलाई आग्रह गरे। “म राजनीतिमा लाग्ने सोच कहिल्यै थिएन, तर फोहोर पोखरी सफा गर्न भित्र पर्नैपर्छ,” उनले भावुक शैलीमा भने।

अन्य सम्मानित व्यक्तित्व

कार्यक्रममा प्रसिद्ध गायिका आनी छोइङ डोल्मालाई पनि सम्मान गरिएको थियो। उनले देशभित्र र बाहिरबाट राष्ट्रको उन्नतिमा योगदान पुर्‍याउने नेपालीहरूलाई हौसला दिने संस्थाको प्रयासको प्रशंसा गरिन्।