अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अन्तर्गतको नेपाल कम्प्याक्ट अब पुनः अघि बढ्ने भएको छ। अर्थ मन्त्रालयका अनुसार, एमसीसीले साउन ८ गते नेपाल सरकारलाई पत्र पठाई कम्प्याक्टको पुनरावलोकन कार्य सम्पन्न भएको जानकारी गराउँदै परियोजना निरन्तरताका लागि सिफारिस गरिएको जनाएको हो।
सन् २०१७ (वि.सं. २०७४ भदौ २९) मा नेपाल सरकार र एमसीसीबीच हस्ताक्षर भएको सम्झौता यस वर्षको माघमा अमेरिकी राष्ट्रपतिको कार्यकारी आदेशले अस्थायी रूपमा रोकिएको थियो। तर अब एमसीसीले पुनरावलोकन सकिएको र नेपालसँगको सहकार्य निरन्तर रहने स्पष्ट संकेत दिएको मन्त्रालयले जनाएको छ।
यससँगै प्रसारण लाइन निर्माण र सडक पूर्वाधार सुधार जस्ता एमसीसी कम्पोनेन्टहरू पुनः तीव्र गतिमा कार्यान्वयनमा आउने अपेक्षा गरिएको छ। यस परियोजनाले नेपालको विद्युत प्रसारण क्षमता विस्तार र पूर्व–पश्चिम सडकको स्तरोन्नतिमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।